धरान । भारतको युनाइटेड कर्साङ फुटबल क्लब २२ औं संस्करणको बुढासुब्बा टुबोर्ग गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
धरान रंगशाला शनिबार भएको उद्घाटन खेलमा धरान फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ गोल अन्तरले पराजित गर्दै कर्साङ सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा कर्साङका प्रशान्त राई, सिदान्त क्षेत्री, बेरिन प्रधान र प्रयास प्रधानले गोल गरे ।
धरानका मनिष गुरुङ र हेमन्त थापाले गोल गरे । विक्रम लिम्बूको प्रहार कर्साङका गोलकिपर राजा बुर्मानले रोकेका थिए भने मनोज राईको प्रहार बारमा लागेर बाहिरिएको थियो ।
टाइब्रेकरअघि खेलको ३४ औं मिनेटमा सुनिल खड्काले गोल गर्दै धरानलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा कर्साङका सिद्धान्त क्षेत्रीले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए ।