काठमाडौं । मछिन्द्र फुटबल क्लब सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा थ्री स्टार क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो ।
मछिन्द्रको जितमा रेजिन सुब्बा र विशाल राई 'बी' ले एक एक गोल गरे ।
खेलको ३८ औं मिनेटमा सब्सिच्युड खेलाडी रेजिनले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । रेजिन २८ औं मिनेटमा दिपक राईको स्थानमा मैदान प्रवेश गरेका थिए ।
त्यसपछि खेलको ९० औं मिनेटमा विशालले गोल गर्दा मछिन्द्र २-० ले विजयी भयो ।
जितसँगै मछिन्द्रले ९ खेलमा १९ अंक जोडेको छ । र, उपाधि होड कायम राखेको छ ।
त्रिभुवन आर्मी क्लबलाई २ अंकले पछि पार्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो । दोस्रो स्थानको आर्मीको १७ अंक रहेको छ ।
थ्री स्टारले ९ खेलमा १४ अंक जोडेको छ । थ्री स्टार लिगको चौंथो स्थानमा रहेको छ ।
के भन्छन् प्रशिक्षक ?
मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले खेल सोचे जस्तै भएको बताए ।
'खेलमा सोचे जस्तो प्रदर्शन भयो । जित्ने भनेर आएका थियौ । जित्यौ । अहिलेसम्मको खेलकै राम्रो प्रदर्शन भयो,' उनले भने ।
थ्री स्टारका प्रशिक्षक मेघराज केसीले खेल उत्कृष्ट भएपनि गोल निकाल्न नसकिएको बताए ।
'खेल राम्रो खेलेको हो । खेल अनुसारको स्कोर भएन । मछिन्द्रले पनि राम्रो मुभ बनाएन । स्कोर मात्रै निस्कियो,' केसीले भने, 'प्रदर्शनबाट खुसी छु ।'
यस्तै उनले टिम उपाधि होडबाट समेत बाहिरिएको बताए ।
'अब उपाधि होडबाट बाहिर भयौ । यहि प्रदर्शनले अब सुपर सिक्सको लागि खेल्छौ । यहि प्रदर्शन भए अबका दिनमा राम्रो हुन्छ,' उनले भने।
मछिन्द्र प्लेईङ सेट -
रञ्जित धिमाल, विशाल राई 'ए', विशाल श्रेष्ठ,आन्द्रेस निया,विशाल राई 'बी',सुजल श्रेष्ठ,पिटर सगुन,सोमिडे एडिलाजा,विजय धिमाल,दिपक राई, देवेन्द्र तामाङ
थ्री स्टार प्लेईङ सेट -
अनन्त तामाङ,लालरम्माविय, विक्रम लामा,प्रिसो,वासिउ हाजमत,रुपेश केसी,सुशील राई,अशोक खवास,एरिनोसो,सन्जोग राई, निशान खड्का