काठमाडौं । त्रिभुवन आर्मी क्लबले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।
सोमबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै आर्मीले विजयी सुरुवात गरेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीलाई जित दिलाउन नवयुग श्रेष्ठ र दिनेश हेम्जनले एक एक गोल गरे । फ्रेन्ड्सका शक्ति राईले एक गोल फर्काए ।
आर्मीले खेलको तेस्रो मिनेटमै नवयुगको गोलबाट अग्रता बनाएको थियो ।
खेलको ५० औं मिनेटमा शक्तिले गोल गर्दै फ्रेन्ड्सलाई खेलमा फर्काए । उनले आर्मीका गोलरक्षक र एक डिफेन्डरलाई बिट गर्दै गोल गरे ।
तर, ८१ औं मिनेटमा दिनेशले गोल गर्दै आर्मीलाई २-१ को जित दिलाए । यू-१९ टिमका सदस्य समेत रहेका दिनेशले कप्तान भरत खवासले कर्नर मार्फत मिलाएको बललाई डिबक्स भित्रबाट जाली चुमाए ।
जितसँगै आर्मीले पहिलो खेलमै ३ अंक जोडेको छ ।
गत सिजन आर्मीले फ्रेन्ड्ससँग गोलरहित बराबरी खेलेको थियो ।
खेलपछि बोल्दै आर्मी प्रशिक्षक नविन न्यौपानेले पहिलो खेलमा ३ अंक पाएकोमा खुसी व्यक्त गरे ।
'पहिलो हाफमा गोल गरेपनि दबाब रह्यो । सेट टिमले एक दिनको मात्र अभ्यास पाएको थियो । मुख्य कुरा ३ अंक आएको छ,' प्रशिक्षक न्यौपाने भने ।
यस्तै उनले मुख्य खेलाडी सन्तोष तामाङ नहुदा टिमलाई गार्हो भएको बताए । सन्तोष एन्फाको प्रतिबन्धको कारण टिम बाहिर रहेका छन् ।
फ्रेन्ड्सका प्रशिक्षक मार्कुस फिलिपेले विदेशी खेलाडी नहुदा खेल्न गाह्रो भएको बताए ।
'विदेशी खेलाडी खेलाउन नपाउदा गार्हो भयो । अर्को खेलमा राम्रो गर्छौ,' फिलिपेले भने ।