काठमाडौं । 'ए' डिभिजन क्लब हिमालयन शेर्पा क्लबलाई यती एयरलाइन्सले मुख्य प्रायोजन गरेको छ ।
हिमालयन शेर्पाले सोमबार यतीसँग २० लाख बराबरको मुख्य प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ ।
हिमालयन शेर्पाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र यतीका मार्केटिङ डिरेक्टर सरल राणाले सम्झौता पत्रमा हस्ताक्षर गरे । क्लबले एक वर्षको लागि सम्झौता गरेको हो ।
सम्झौतासँगै क्लबको नाम यती हिमालयन शेर्पा क्लब रहनेछ ।
यतीले यसअघि पनि हिमालयन शेर्पालाई प्रायोजन गरेको थियो । यतीले हिमालयनलाई तेस्रो वर्ष प्रायोजन गरेको हो ।
सम्झौतापछि बोल्दै यतीका सिनियर म्यानेजर भीमराज राईले सामाजिक उत्तरदायीत्वको काम गर्ने उदेश्यसहित क्लबलाई सहयोग गरिएको बताए ।
'विगतमा पनि प्रायोजन गरेको हो । जहाज मात्रै उठाएर नाफा गर्ने उदेश्य हाम्रो हैन । समाजिक उत्तरदायीत्वको काम गरिरहेका छौँ । खेलकुद क्षेत्रमा पनि सहयोग गर्ने भावना भएकोले क्लबलाई सहयोग गरेको हो,' राईले भने, 'फुटबलमा मात्रै नभएर क्रिकेट र फुटसलमा पनि सहयोग गर्दै आएका छौँ।'
क्लबका अध्यक्ष शेर्पाले क्लबलाई सहयोग गरेकोमा यतीलाई धन्यवाद दिए ।
'हामीलाई तेस्रो पटक सहयोग गर्नु भएको छ । यस पटकको सम्झौता व्यापक भएको छैन । अर्को पटक व्यापक हुनेछ,' अध्यक्ष शेर्पाले भने, 'बुबाको सम्झनामा सहयोग गरेकोमा नोर्बुलाई धन्यवाद ।'