काठमाडौं । गत सिजन लिग जित्ने लक्ष्य सहित च्यासलले टिम तयार बनाएको थियो ।
राष्ट्रिय टिमका विमल घर्तीमगरदेखि देवेन्द्र तामाङ सहितको खेलाडी लिएर प्रतियोगितामा होमिएको च्यासलले लक्ष्य पार गर्न सकेन ।
अर्कोतर्फ सुपर ६ को लक्ष्य सहित लिगमा उत्रिएको संकटा अप्रत्यासित रुपमा उपविजेता बन्यो ।
फेरि एक पटक शहिद स्मारक ए डिभिजन लिगमा दुबै टिम उपाधि लक्ष्य सहित मैदान उत्रदै छन् ।
लिगको तेस्रो खेलमा संकटा र च्यासलबीच प्रतिस्पर्धा हुन लागेको हो ।
खेल दशरथ रंगशालामा दिउँसो साढे २ बजे सुरु हुनेछ ।
मुख्य बिषय करिब ५ बर्षपछि दशरथ रंगशालामा लिगको खेल हुन लागेको छ । यसअघि लिगको उद्घाटन खेल रंगशालामा गर्ने भनिएपनि बर्षाले मैदान हिलाम्य भएपछि प्रभावित बनेको थियो ।
लिगको पहिलो खेलमा दुबै टिम स्पष्ट तीन अंक बटुल्ने लक्ष्य सहित मैदान उत्रनेछन् । लिगको पहिलो खेलमा दुबै टिम जित निकाल्न चाहन्छन् । दुवै टिम विपक्षीलाई अंक सुम्पिने अवस्थामा छैनन् ।
गत सिजन भएको भिडन्तमा संकटाले बाजी मारेको थियो । खेलमा संकटाले च्यासललाई २–१ गोल अन्तरले पराजित गरेको थियो । च्यासलविरुद्ध म्यान अफ दि म्याच चुनिएका संकटाका नितिन थापा यस सिजन च्यासलको जर्सीमा मैदान उत्रनेछन् ।
च्यासलका प्रशिक्षक बालगोपाल शाहुखल स्पष्ट तीन अंकको लागि खेल्ने बताउँछन् । ‘तयारी राम्रो गरेका छौं । तीन अंकका लागि खेल्छौैं ।’ पहिलो पटक ए डिभिजन क्लबको जिम्मेवारी पाएका साहुखलले भने ।
उनले गत सिजनको उपविजेता टिमविरुद्ध आफ्ना खेलाडी खेल्न तयार रहेको बताउँछन् ।
च्यासलले लिग जित्ने लक्ष्य सहित थ्री स्टारबाट राष्ट्रिय टिमको प्रतिनिधित्व गरिरहेका खेलाडी अनुबन्धन गरेको छ । उसले गोलरक्षक एलन न्यौपाने, डिफेन्डर दिनेश राजबंशी र मिडफिल्डर सुनिल बललाई थ्री स्टारबाट टिममा ल्याएको हो ।
दिनेश भने एन्फाको कारबाहीका कारण लिग गुमाउने छन् । च्यासलसँग १३ औं सागमा नेपाललाई स्वर्ण दिलाएका नितिन थापा रहने छन् । भेट्रान फरवार्ड सन्तोष साहुखल समेत च्यासलकै जर्सीमा मैदान उत्रनेछन् ।
गत सिजन अप्रत्यासित रुपमा उपविजेता बनेको संकटा पहिलो खेलमा च्यासलविरुद्ध तीन अंक लिने दाउमा छ । संकटाका मुख्य प्रशिक्षक बिजय महर्जन आफ्ना खेलाडी च्यासलविरुद्ध खेल्न तयार रहेको बताउँछन् ।
‘तयारी राम्रो भएको छ । च्यासलविरुद्ध जित्ने लक्ष्यसाथ मैदान उत्रनेछौं । स्पष्ट तीन अंकको लागि खेल्छौं ।’ उनले भने ।
संकटालाई राष्ट्रिय टिमबाट खेल्दै आएका डिफेन्डर सरोज दाहाल र मिडफिल्डर सुभाष गुरुङको साथ छ ।
गत सिजन १३ खेलबाट संकटाले २८ अंक जोड्दै लिगको उपविजेता बनेको थियो । च्यासल भने १६ अंक सहित आठाै भएको थियो ।