काठमाडौं । ललितपुरे क्लब थ्री स्टारले राष्ट्रिय फुटबल टिमका तीन स्टार खेलाडीलाई अनुबन्धन गरेको छ ।
थ्री स्टारले नयाँ सिजनका लागि राष्ट्रिय फुटबल टिमका मिडफिल्डर बिक्रम लामा, डिफेन्डर अनन्त तामाङ र सेन्टर मिडफिल्डर मिक्छेन तामाङलाई क्लबमा अनुबन्धन गरेको हो ।
तीन जना खेलाडीलाई नयाँ सिजनका लागि अनुबन्धन गरेको क्लबका म्यानेजर राम श्रेष्ठ (बोश)ले खेलपाटीलाई बताए ।
तीन जना खेलाडीको अनुबन्धन प्रक्रियाले आईतबार पुर्णता पाएको हो । तीन जना खेलाडीसंग थ्री स्टारले एक बर्षको अनुबन्धन सम्झौता गरेको छ ।
म्यानेजर श्रेष्ठका अनुसार लिग र मोफसलका प्रतियोगिता खेल्ने गरि राष्ट्रिय टिमका तीन खेलाडी अनुबन्धन गरिएको हो ।
बिक्रम थ्री स्टारका कप्तान हुन् । उनी राष्ट्रिय टिमबाट पछिल्लो समय डिफेन्डरको भूमिकामा देखिदै आईरहेका छन् । तर उनी लामो समय मिडफिल्डरको भूमिका निभाउँदै आएका थिए ।
खुट्टा भाँचिएपछि उनी करिब ७ महिना मैदान बाहिर रहेका थिए । चोट मुक्त हुँदै उनले गत सिजनको लिग खेलेका थिए ।
अनन्तले थ्री स्टारबाट गत सिजन मोफसलको प्रतियोगिता खेलेका थिए । थ्री स्टारबाट रिलिज पेपर नलिएर उनले मनाङ क्लब आबद्व भएका थिए ।
तर दुवै क्लबले नछाडेपछि उनले गत सिजनको लिगका अधिकांश खेल गुमाएका थिए । अनन्तले नयाँ सिजन थ्री स्टारबाटै खेल्ने निर्णय लिएका हुन् ।
मिक्छेन थ्री स्टारबाट उदाएका युवा स्टार हुन् । उनी गत सिजनमात्र थ्री स्टारबाट ए डिभिजन लिगमा डेब्यु गरेका थिए । क्लबमा प्रभावशाली प्रर्दशन गरेपछि उनले एक बर्षमै राष्ट्रिय टिमसम्मको यात्रा तय गर्न भ्याए ।
मोफसलका प्रतियोगितामा रमाईरहेका मिक्छेनलाई प्रशिक्षक मेघराज केसीले थ्री स्टारमा ल्याएका हुन् । मिक्छेनले नेपालमा भर्खरै सम्पन्न १३ औं सागको भुटानविरुद्व फ्रिकिकमा गोल गरेका थिए ।
राष्ट्रिय फुटबल टिमका अधिकांश अनुहारले भरिएको थ्री स्टार नयाँ सिजन तीन खेलाडीलाई मात्र क्लबमा राख्न सफल भएको छ ।
गत सिजन थ्री स्टारबाट खेलेका गोलकिपर एलन न्यौपाने, मिडफिल्डर सुनिल वल र डिफेन्डर दिनेश राजवंशी च्यासल युथ क्लब लागेका छन् । डिफेन्डरद्वय रेजिन धिमाल र विजय धिमालले मछिन्द्र क्लब रोजेका छन् । क्लबका भरपर्दा डिफेन्डर रहँदै आएका पिटर सेगुन समेत नयाँ सिजन मछिन्द्र पुगेका छन् ।
पछिल्लो सिजन थ्री स्टारबाट खेलेका अनिल गुरुङ ब्रिगेड ब्वाईजमा अनुबन्धन भएका छन् भने रन्जन विष्ट समेत मनाङ मस्र्याङ्दी क्लबमा आबद्व आएका छन् ।
थ्री स्टार बिक्रम सहित राष्ट्रिय टिमका तीन खेलाडीलाई समावेश गर्दै नयाँ सिजनका लागि टिम तयार पारेको छ । क्लबमा अधिकांश युवा खेलाडीको बाहुल्यता रहेको छ ।