काठमाडौं । आयोजक त्रिभुवन आर्मी क्लबले सातौं प्रधानसेनापति अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
आईतबार आर्मीको जंगी अड्डामा भएको उद्घाटन खेलमा आर्मीले प्रदेश नम्बर १ लाई ९–० को भारी गोल अन्तरले पराजित गर्याे ।
आर्मीको जितमा डेब्यु खेलाडी रश्मी कुमारी घिसिङ र शर्मिला थापाले ह्याट्रिक गरे । यस्तै विमल चौधरीले २ गोल गर्दा सपना लामाले एक गोल गरिन् ।
पहिलो पटक आर्मीबाट खेलेकी रश्मीले पहिलो खेलमै ह्याट्रिक गरेकी हुन् । यस अघि रश्मी रौतहटबाट खेल्ने गर्थिन् ।
आर्मीले पहिलो हाफमै ५ गोल गरेको थियो । दोस्रो हाफमा थप ४ गोल गर्यो । खेलको वुमन अफ दि म्याच आर्मी क्लबकी शर्मिला थापा घोषित भईन् ।
प्रतियोगितामा नेपालका तिन विभाग सहित प्रदेश नम्बर १, २ र ५ को सहभागीता रहेको छ । यस्तै दुई विदेशी क्लबमा एक सिक्किम र अर्काे भुटानको राष्ट्रिय टिमले सहभागीता जनाएको छ ।
प्रतियोगिताको दोस्रो दिन दुई खेल हुनेछन् । दुबै खेल लगनखेल स्थित शारिरीक तथा तालिम केन्द्रमा हुनेछ ।
प्रतियोगिताको विजेताले ३ लाख पाउने छ भने दोस्रो हुने टिमले एक लाख ५० हजार पाउने छ ।
यस्तै तेस्रो स्थान हासिल गर्ने टिमले १ लाख पाउने आयोजक आर्मी क्लबले जनाएको छ ।