काठमाडौं । ब्रिगेड ब्वाइज क्लब (बीबीसी) राजधानीमा जारी तेस्रो संस्करणको चन्द्रागिरी मेयर गोल्डकप ‘ए’ डिभिजन फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहिबार भएको खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै बीबीसी अन्तिम चारमा पुगेको हो ।
चन्द्रागिरी नगरपालिकास्थित नैकाप फुटबल मैदानमा बीबीसीलाई जित दिलाउन खेलको ३० औं मिनेटमा विदेशी खेलाडी उदे ग्लोरीले निर्णायक गोल गरे ।
अब बीबीसीले सेमिफाइनलमा पुलिस र च्यासल युथ क्लबीचको विजेतासँग खेल्नेछ । पुलिस र च्यासलबीच शनिबार क्वाटरफाइनल खेल हुनेछ ।
प्रतियोगितामा शुक्रबार दोस्रो क्वाटरफाइनलमा फ्रेन्डस र रुस्लान थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले ६ लाख ५० हजार रुपैयाँ पाउनेछ । दोस्रो हुनेले ३ लाख ५० हजार रुपैयाँ हात पार्नेछ । सर्वाेत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ प्रदान गरिनेछ ।