काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले घरेलु मैदानमा कुवेतविरुद्ध खेल्न नपाउँदा दुख लागेको बताएका छन् ।
विश्वकप छनोट अन्तर्गत कुवेतविरुद्धको खेल न्युट्रल भेन्यु भुटानमा प्रतिस्पर्धा गरेर बिहिबार स्वदेश फर्किएका कप्तान किरणले खेलपाटीसँग कुरा गर्दै अंक प्राप्त गर्न सक्ने खेल घरेलु मैदानमा खेल्न नपाउँदा दुख लागेको बताए ।
‘हाम्रो होम खेल थियो, अंक पनि लिनु थियो । तर, आफ्नै होम मैदानमा खेल्न पाएनौं । हामी निकै दुखी छौं,’ कप्तान किरणले भने ।
थिम्पुस्थित चाम्लिमिथाङ रंगशालामा मंगलबार भएको खेलमा नेपाल कुवेतसँग १–० गोल अन्तरले पराजित भयो । यस अघि कुवेतको मैदानमा नेपाल ७–० गोल अन्तरले पराजित भएको थियो ।
‘हामीले आफ्नै मैदानमा खेलेको भए सायद अंक पाउन सक्थ्यौं । तर, सम्भव भएन । हामीलाई दर्शकको राम्रो साथ रहँन्थ्यो,’ किरणले थपे ।
भारतीय आई लिग क्लब मिनेर्वा पञ्जाबबाट व्यवसायिक फुटबल खेलिरहेका कप्तान किरणले कुवेतविरुद्ध राम्रो खेल्दा खेल्दै पनि अंक गुमाउन पुगेको बताए ।
‘हामीले न्युट्रल भेन्युमा अंकको लागि खेलेका थियौं । सम्भव भएन । सबैले राम्रो खेलेका थियौं,' कप्तान किरणले भने, 'हाम्रो लक्ष्य अंकमा थियो । केहि अवसर पनि पाएका थियौं । तर त्यसलाई सदुपयोग गर्न असफल भयौं ।’
यस्तै कप्तान किरणले मुख्य चार खेलाडीको अभावमा पनि अन्य खेलाडीले उत्कृष्ट खेलेको बताए ।
‘चार खेलाडी कारबाही परेको सुन्दा गाह्रो भएको थियो । तर, मैदानमा अन्य नयाँ खेलाडीले राम्रो फाइट गरे । जसले हामीलाई चार खेलाडीको अभाव हुन दिएनन्,’ कप्तान किरणले भने ।
भुटान उड्नु अघि चार खेलाडी एन्फाको कारबाहीमा परेपछि एक वैकल्पिकसहित २० सदस्सीय नेपाली टिम भुटान गएका थिए । अनुशासन कार्य विपरित काम गरेको भन्दै एन्फाले स्ट्राइकर विमल घर्ति मगर, मिडफिल्ड अन्जन विष्ट, सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई भुटान जाने टिमबाट हटाएको थियो ।
छनोट अन्तर्गत अब नेपालले घरेलु भूमिमा चैत्र १३ गते चाईनिज ताईपे, चैत्र १८ अष्ट्रेलिया र जेठ २२ गते जोर्डनसँग खेल्दैछ ।
त्यस्तै किरणले नेपालले एसिया कपको छनोट खेल्ने सम्भावना बाँकी रहेको कारण बाँकी तीन खेलमा अंकको लागि प्रतिस्पर्धा गर्ने बताए ।