काठमाडौं । विश्वकप छनोट अन्तर्गत नेपालविरुद्धको खेल खेल्न कुवेत 'चार्टर प्लेन'मा भुटान पुग्ने भएको छ ।
नेपालले विकल्पको रुपमा प्रस्तुत गरेको भुटानमा खेल्न सिधा उडान नभएको कारण देखाउँदै आनाकानी गर्दै आएको कुवेत 'चार्टर प्लेन'मा भुटान जाने भएको छ ।
विश्वकप छनोटमा नेपालविरुद्धको निकै महत्वपूर्ण खेल खेल्न कुवेत आगामी शुक्रबार भुटान पुग्नेछ ।
कुवेतले करिब ५८ जनाको जम्बो टोली लिएर भुटान पुग्ने तयारी गरेको छ ।
नेपाली टिम भने त्यसको भोलीपल्ट (शनिबार)मात्र भुटान पुग्नेछ ।
सिधा हवाई उडान र भिसाको समस्या देखाउँदै कुवेतले भुटान जान आनाकानी गर्दै आएको छ ।
दशरथ रंगशालाको निर्माण कार्य समयमा सम्पन्न नभएपछि एसियाली फुटबल महासंघ एएफसीले काठमाडौंमा खेल सञ्चालन गर्न नसकिने बताएको थियो । उसले दशरथ रंगशालाको विकल्प रोज्न नेपाललाई आग्रह गरेको थियो ।
सोही अनुसार नेपालले भुटानको थिम्पुलाई विकल्पको रुपमा प्रस्तुत गरेको थियो ।
भुटान फुटबल संघ र एन्फाले भिषा सहित सहज हवाई उडानको ग्यारेन्टी गरेपछि अन्तत कुवेत भुटानमा खेल्न राजी भएको हो ।