काठमाडौं । घरेलु फुटबलको महारथी क्लब सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले डिफेन्डर आदित्य चौधरीलाई अनुबन्धन गरेको छ ।
नयाँ सिजनको लिगका लागि घरेलु फुटबलको सफल क्लब मनाङले राष्ट्रिय फुटबल टिमका पुर्व डिफेन्डर आदित्यलाई क्लबमा भित्राएको हो ।
मनाङले आदित्यसँगै डिफेन्डर कमल श्रेष्ठ र सुरज विश्वकर्माको सम्झौता नविकरण गरेको छ ।
मनाङले तीनै जना खेलाडीलाई ६ महिनाका लागि अनुबन्धन सम्झौता गरेको छ ।
मनाङले लिग सकिएसंगै मोफसलका प्रतियोगिता जारी रहेमा खेलाडीसंगको सम्झौता अवधि बढ्ने सक्ने जनाएको छ ।
लिग विजेता मनाङका ब्यवस्थापक कुमार भट्टराईले आदित्यसँगै अन्य दुई खेलाडीलाई टिममा लिएको खेलपाटीलाई बताए ।
‘हामीले यस सिजनको लागि आदित्य चौधरीलाई अनुबन्धन गरेका छौ । साथै सुरज र कमलसँग सम्झौता नविकरण गरेका छौं ।’ उनले भने ।
सुरुवाती चरणमा डिफेन्डरलाई लिएको मनाङले अबका दिनमा अन्य पोजिसनका खेलाडीलाई लिने बताएको छ ।
पल्सर सहिद स्मारक ए डिभिजन लिगमा गुमनाम रहेका आदित्य यस सिजनबाट फुटबलमा फर्कने भएका छन् ।
यस अघिको लिगमा एपीएफ क्लबका आबद्ध भएपनि उनले घरायसी कारण देखाउँदै एपीएफ छोडेका थिए । त्यस यता उनी फुटबल बाहिर छन् ।
यस्तै सुरज र कमलले गत सिजन मनाङलाई लिग जिताउन महत्वपुर्ण भुमिका खेलेका थिए ।
उनीहरु लिगसंगै एएफसी कपको छनोट समेत खेलेका थिए । प्रतियोगितामा मनाङ समूह चरणबाटनै बाहिरिएको थियो ।
यस बर्षको सहिद स्मारक ए डिभिजन लिग मंसिर २८ गतेबाट सुरु हुँदैछ ।