काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेको नेपाली राष्ट्रिय यू-२३ फुटबल टिमले म्यानमारको यू-२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली यू-२३ टिमले म्यानमारसँग एक मैत्रीपूर्ण खेल खेल्ने जनाएको छ । नेपाल र म्यानमारबीचको खेल कतारको दोहामा हुनेछ । खेल कात्तिक ८ गते हुनेछ ।
नेपाली टिम भोली ( मंगलाबार) त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
नेपालले सागको लागि गत साउनबाट तयारी गरेको थियो । सुरुवातमा ४५ खेलाडी बोलाईएको अहिले २५ खेलाडी छनोट गरिएको छ ।
यू-२३ टिम रहने सागमा ३ सिनियर खेलाडी राख्न पाउने छन् । सागका लागि सिनियर टिमबाट गोलरक्षक किरण चेम्जोङ, डिफेन्डर बिक्रम लामा, मिडफिल्डरमा सुजल श्रेष्ठ र रोहित चन्द रहँदा स्ट्राइकरमा नवयुग श्रेष्ठ रहेका छन् ।
कतार जाने टिममा किरण, विमल र रोहित भने उपस्थित हुने छैनन् । नेपाली टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले किरण र रोहित कतार भ्रमणमा नहुने खेलपाटीलाई बताए ।
किरण भारतीय आईलिग टिम मिनेर्वा पन्जाबको टिममा रहेका छन् । यस्तै रोहित इन्डोनेसियाको लिगमा पर्सिजा जकार्तामा रहेका छन् । विमल माल्दिभ्सको क्लब टिसी स्पोर्ट्सको टिममा रहेका छन् ।
कतार जाने टिम :
गोलरक्षक : अर्पण कार्की, दिप कार्की, देव लिम्बु
डिफेन्डर : दिनेश राजबंशी, सुमन अर्याल, विकास खवास, अनन्त तामाङ, छिरिङ गुरुङ, रोमन लिम्बु
मिडफिल्डर : हेमन्त थापा मगर, बिक्रम लामा, सुनिल बल, तेज तामाङ, सुजल श्रेष्ठ, नितिन थापा, सेसेहाङ आङ्देम्बे, राम चन्द्र वाजी, अन्जन बिष्ट
स्ट्राइकर : अभिषेक रिजाल, रेजिन सुब्बा, राजिब लोप्चान, प्रिजेन तामाङ, मिक्चेन तामाङ, नवयुग श्रेष्ठ