काठमाडौं । जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटको तेस्रो खेलमा नेपालले फराकिलो हार व्यहोरेको छ । शुक्रबार भएको खेलमा नेपाल ताजिकिस्तानसँग ७-० गोलको फराकिलो अन्तरले पराजित भएको छ ।
अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा पहिलो हाफमा ४-० ले पछि परेको नेपालले दोस्रो हाफमा थप ३ गोल खाएको थियो ।
ताजिकिस्तानलाई जित दिलाउन सैदालिभले ह्याट्रिक गरे । यस्तै खुडोइडजोडा, टोइरोभ, दाब्लाटजोडा र शोभाइसुदिनोभले एक एक गोल गरे ।
जितसँगै ताजिकिस्तानले अपराजित यात्रा कायम राखेको छ । ताजिकिस्तानले ३ खेलबाट ९ अंक जोडेको छ । ३ खेलमा दुई हार व्यहोरेको नेपालको १ अंक छ ।
यसअघि पहिलो खेलमा नेपाल जोर्डनसँग ७-० ले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले कुवेतसँग १-१ गोलको बराबरी खेलेको थियो ।
छनोटको समूह 'ए' मा रहेको नेपालले अब अन्तिम खेलमा आइतबार श्रीलंकासँग खेल्नेछ ।
प्रतियोगिताको शीर्ष टोलीले सन् २०२० मा आयोजना हुने च्याम्पियनसिपको दोस्रो चरणमा स्थान बनाउने छन् ।