काठमाडौं । फ्रेन्ड्स क्लब कुपन्डोलले राजधानीमा जारी ललित स्मृति यू–१८ च्याम्पियनसिप फुटबलमा सान्त्वना जित निकालेको छ ।
बिहिबार भएको खेलमा थ्री स्टार क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै फ्रेन्ड्सले सान्त्वना जित निकालेको हो ।
सातदोबाटोस्थित एन्फा कम्पलेक्समा फ्रेन्ड्सलाई जित दिलाउन निशेन सुब्बा र जीवन गुरुङले एक एक गोल गरे ।
जितसंगै 'बी' को फ्रेन्ड्सले ४ खेलबाट ४ अंक जोड्यो । तर, फ्रेन्ड्स क्वाटरफाइनलमा पुग्न सकेन । थ्री स्टार ४ खेलबाट १ अंक जोडेर प्रतियोगिताबाट बाहिरिएको छ ।
यस समूहबाट त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब र मनाङ मर्स्याङ्दी क्लबले क्वाटरफाइनलमा स्थान बनाएको छ ।
एन्फाका पुर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने प्रतियोगितामा 'ए' डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।