फेरि साम्बालाई खुट्टाको चोटको समस्या

काठमाडौं। नेपाली राष्ट्रिय टोलीकी स्ट्राइकर सबित्रा ‘साम्बा’ भण्डारीलाई फेरि चोट लागेको छ। वेलिङ्टन फिनिक्सबाट निन्जा ‘ए’ लिगमा मेलबर्न सिटी एफसीविरुद्ध खेल्दा उनले चोट बेहोरेकी हुन्।
क्लबले उनको फिटनेसलाई गम्भीर रूपमा अनुगमन गरिरहेको जनाएको छ। लिगमा पहिलो अवे खेल खेलेको वेलिङ्टनले मेलबर्न सिटीसँग १–० को हार बेहोर्दा सबित्रा ५८औं मिनेटमा खुट्टामा समस्या देखिएपछि मैदानबाट बाहिरिनुपरेको थियो।
घुँडाको चोटबाट फर्किएका सबित्राले यस खेलमा पहिलो रोजाईमा स्थान बनाएकी थिइन्। तर, उनको कमब्याक छोटो समयमै सकियो। दोस्रो हाफमा उनी खुट्टा समात्दै भुईँमा बसेपछि टोलीका मेडिकल सदस्यले सहयोग गर्दै उनलाई मैदान बाहिर लगेका थिए।
प्रारम्भिक आकलनमा तल्लो खुट्टामा समस्या देखिएको बताइएको छ। गत राउन्डमा शक्तिशाली मेलबर्न भिक्टोरीलाई हराउँदै उत्साहसँग मैदान छिरेको फिनिक्सले ८६औं मिनेटसम्म खेल बराबरीमा गरेको थियो। तर, सिटीकी कप्तान रेबेका स्टटको प्रहारले वेलिङ्टनलाई पहिलो हार चाख्न बाध्य बनायो।
वेलिङ्टन अब पर्थ ग्लोरीविरुद्ध शुक्रबार हुने खेलको तयारीका लागि अष्ट्रेलियामै बस्नेछ। चार खेलपछि तालिकाको आठौं स्थानमा रहेको फिनिक्स यस हारबाट पुनः उठ्ने लक्ष्यमा छ।






-1765245125273.webp&w=3840&q=75)






