युनाइटेडको जितमा फर्नान्डेज चम्किए
-1765245125273.webp&w=3840&q=75)
काठमाडौं। म्यानचेस्टर युनाइटेडले ब्रुनो फर्नान्डेजको चमत्कारी प्रदर्शनसँगै वुल्भ्सलाई ४–१ ले पराजित गरेको छ। योसँगै टोली प्रिमियर लिगको अंक तालिकामा शीर्ष ६ मा प्रवेश गरेको छ।
सोमबार राति भएको खेलमा युनाइटेडका कप्तान फर्नान्डेज दुई गोलका साथै एक असिस्टसहित निर्णायक नायक बने। खेलको सुरुआतमै प्रभावशाली बनेको युनाइटेडले १५ मिनेटपछि नै अग्रता लियो।
वुल्भ्सका ब्राजिलियन खेलाडी आन्द्रेले मध्य मैदानमा गुमाएको बललाई युनाइटेडले काउन्टरमार्फत प्रयोग गर्दै फर्नान्डेजले बक्सभित्रबाट प्रहार गरे। गोलरक्षक साम जोनस्टोनले छोए पनि बल जालीभित्र पुग्यो।
तर, वुल्भ्स पहिलो हाफको कम्पनसेशन टाइममै बराबरी फर्कायो। डेभिड मोलर वुल्फेले बाइलाइनबाट दिएको क्रसलाई जिन-रिक्नर बेलगार्डले उत्कृष्ट भलीमार्फत गोलमा परिणत गरे। यो वुल्भ्सको अक्टोबर २६ पछि आएको पहिलो लिग गोल थियो।
दोस्रो हाफमा भने युनाइटेड पूर्ण रूपमा हाबी भयो। ५१औं मिनेटमा ब्रायन एम्बेउमोले दिओगो डालोटको पासलाई नजिकैबाट जालीमा धकेल्दै अग्रता दोब्बर पारे। त्यसपछि ६२औं मिनेटमा मेसन माउन्टले फर्नान्डेजको आकर्षक चिप्ड असिस्टलाई उपयोग गर्दै तेस्रो गोल थपे।
८२औं मिनेटमा फर्नान्डेजले पेनाल्टीमार्फत आफ्नो दोस्रो तथा टोलीको चौथो गोल गर्दै सानदार जित सुनिश्चित गरे। वुल्भ्सको यो लगातार आठौं हार हो। दुई अंकसहित तालिकाको अन्त्यमा रहेको वुल्भ्स बर्नलीभन्दा ८ अंकले पछि परेको छ।








-1765173906909.webp&w=3840&q=75)





