लुम्बिनीको लगातार चौथो हार
-1733639273.jpg&w=3840&q=75)
काठमाडौं। लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार चौथो हार बेहोरेको छ। आइतबार भएको खेलमा जनकपुर बोल्ड्ससँग लुम्बिनी एक रनले पराजित भएको हो।
१३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३५ रन मात्रै बनाउन सक्यो। अन्तिम ओभरमा लुम्बिनीलाई जितका लागि नौ रन चाहिएको थियो। तर, क्यानेडाली बलर हर्ष ठाकर बाधक बने। पहिलो बलमै साद बिन जाफरलाई शून्य रनमा पभिलियन फर्काएका हर्षले दुर्गेश गुप्तालाई अर्को बलमा चौका दिएका थिए।
तेस्रो बल उनले डट राखे। चौथो बलमा दुर्गेशलाई एक रन दिए। योसँगै पाँचौं बल सामना गर्न सन्दीप जोरा आएका थिए। उक्त बलमा दुई रन लिने क्रममा सन्दीप रन आउट हुन बारम्बर जोगिएका थिए। तर, अन्तिम बलमा दुई रन चाहिएको अवस्थामा हर्षले सन्दीपलाई किशोर महतोबाट क्याच आउट गराएर लुम्बिनीलाई प्रतियोगितामा पुनरागमन गर्न दिएनन्।
पहिलो खेलमा विराटनगर किङ्ससँग दुई विकेटको झिनो हार र दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग १० विकेटको एकतर्फी पराजयले टोलीलाई कठिन अवस्थामा थियो। यही अवस्थामा शनिबार सुदूरपश्चिम रोयल्ससँग ४५ रनको अर्को फराकिलो हार बेहोरेसँगै लुम्बिनीको यात्रा कमजोर भइसकेको छ। लुम्बिनी प्रतियोगितामा जित निकाल्न नसक्ने एक मात्रै टोली हो।
यता, जनकपुरको भने यो लगातार चौथो जित हो। जनकपुरले विराटनगरलाई आठ, कर्णाली याक्सलाई आठ र पोखरा एभेन्जर्सलाई सात विकेटले हराएको थियो।
लुम्बिनीका कप्थान रोहितकुमार पाौडेलले सर्वाधिक ३५ रन बनाए। ३८ बल खेलेका उनले तीन चौका प्रहार गरे। उनले टम मुर्ससँग तेस्रो विकेटका लागि ४१ रनको साझेदारी गरे। अन्य ब्याटरले भने राम्रो साझेदारी गर्न सकेनन्।
२३ बलमा दुई चौका र एक छक्का प्रहार गरेका मुर्स ३१ रनमा आउट भएपछि लुम्बिनी निरीह देखिएको थियो। बेन कटिङ तीन तथा विवेककुमार यादव र साद बिन जाफर शून्य रनमा पभिलियन फर्किए।
अर्जुन साउदले २० र सन्दीपले १६ रनको योगदान दिए पनि पर्याप्त बन्न सकेन। जनकपुरका हर्ष ठाकरले लुम्बिनीलाई रोक्ने क्रममा सार्वाधिक पाँच विकेट लिए। चार ओभर बलिङ गरेका उनले २३ रन खर्चिए। किशोर महतो, ललितनारायण राजवंशी र शेर मल्लको नाममा समान एक विकेट रह्यो।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सका कप्तान रोहितले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका थिए। योसँगै बिहानको कन्डिसनमा जनकपुरलाई ब्याटिङ गर्न सहज नहुने आकलन गरिएको थियो।
तर, ओपनरद्वय आसिफ शेख र अनिलकुमार साहसँगै लाहिरू मिलन्थाले केही राम्रो साझेदारी गर्दै यो गलत रहेको सावित गर्दिएका थिए। यी तीन जना आउट भएसँगै जनकपुरले ब्याटिङमा संघर्ष गर्दै निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३६ रन बनाएको हो।
यसअघिका तीन खेलमा जनकपुरले कम्तिमा तीन विकेटभन्दा बढी गुमाउनु परेको थियो। उसले विराटनगर किङ्सलाई आठ, कर्णाली याक्सलाई आठ र पोखरा एभेन्जर्सलाई सात विकेटले हराएको थियो। यी खेलमा आसिफ, अनिल, लाहिरू र हर्ष चलेका थिए।
यसपल्ट ओपनर आसिफले १६ रनभन्दा बढी जोड्न सकेनन्। यद्यपि, उनले अनिलालाई ४८ रनको साझेदारी गर्न सहयोग गरे। लाहिरू २४ रनमा आउट हुँदा ३९ बलमा एक चौका र चार छक्का प्रहार गरेका अनिल अर्धशतकबाट पाँच रनले चुके। ११.३ ओभरमा उनी सन्दीप जोराको बलमा विवेककुमार यादवबाट ४५ रनमा क्याच आउट भएपछि जनकपुरले ब्याटिङमा संघर्ष गर्नुपरेको हो।
१३औं ओभरको दोस्रो बलमा लाहिरू पभिलियन फर्किए। सोही ओभरको चौथो बलमा हर्ष ठाकर एक रनमा आउट भए। अन्तिम बलमा जेम्स निसम पनि एक रनमै आउट भए। तीन जनै ब्याटर अभिषेक गौतमको बलमा आउट भएका हुन्।
जनपुरले त्यसपछि मोहम्मद मोहसिनलाई तीन, शेर मल्ललाई शून्य र हेमन्त धामीलाई ९ र ललितनारायण राजवंशीलाई शून्य रनमा गुमायो। शुभ कंशकार भने २२ रनमा अविजित रहन सफल भए।
लुम्बिनीक अभिषेक गौतमले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले २० रन खर्चिए। जाफर र रोहितले समान दुई विकेट लिँदा सन्दीपको नाममा एक विकेट रह्यो।














-1763024272658.jpeg&w=3840&q=75)