लुम्बिनीमाथि पोखराको १० विकेटको जित

काठमाडौं। ओपनरद्वय आन्द्रेस गौस र दिनेश खरेलको कीर्तिमानी साझेदारीसँगै पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा पहिलो जित निकालेको छ। शुक्रबार भएको खेलमा पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै हारको शृंखला भंग गरेको हो।
कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले चितवन राइनोजसँग ८७ रन र जनकपुर बोल्ट्ससँग सात विकेटको हार बेहोरेको थियो। लगातार ओपनिङ पार्टनर परिवर्तन गरे पनि पोखराले राम्रो सुरुआत गर्न सकेको थिएन। तर, लुम्बिनीविरुद्ध गरिएको परिवर्तनले भने पोखरालाई १६.५ ओभरमा कुनै विकेट नगुमाइ सानदार जित दिलायो।
गौसले अविजित रहँदै १०४ रन जोडे। ५५ बल खेलेका उनले १२ चौका र पाँच छक्का प्रहार गरे। उनी एनपिएलमा शतक प्रहार गर्ने पहिलो खेलाडीसमेत बन्न सफल भए। उनले ५५ बलमा शतक प्रहार गरेका हुन्। त्यसभन्दा अगाडि उनले सबैभन्दा छिटो अर्धशतक बनाउने खेलाडीको कीर्तिमान पनि कायम गरेका थिए। ३१ वर्षीय गौसले आक्रामक ब्याटिङ गर्दै २० बलमै अर्धशतक प्रहार गरेका हुन्।
यो उपलब्धि हासिल गर्नेक्रममा उनले पाँच चौका र चार छक्का प्रहार गरे। यता, दिनेशले ४६ बलमा चार चौका र चार छक्कासहित अविजित रहँदै ६१ रनको योगदान दिए। उनीहरूबीच १७६ रनको साझेदारी भएको हो। यो एनपिएलकै सबैभन्दा ठूलो साझेदारी हो। यसअघि जनकपुर बोल्ड्सका हर्ष ठाकेर र लाहिरू मिलन्थाले ११६ रनको अविजित साझेदारी गरेका थिए। त्यो कीर्तिमान गौस र दिनेशले तोडेका हुन्।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कप्तान रोहितकुमार पौडेलको अविजित ९५ रनसँगै लुम्बिनीले पोखरालाई १७१ रनको लक्ष्य दिएको थियो। रोहितले नै टस जितेर पहिला ब्याटिङको निर्णय लिएका थिए। तर, पहिलो पावर प्लेमा यो निर्णय धातक सावित भएको देखिएको थियो। ओपनरद्वय आशुतोष धिरौया र उन्मुक्त चन्द खाता नै नखोलि पभिलियन फर्किए। तर, तेस्रो नम्बरमा आफैं उत्रिएका रोहितले कप्तानी इनिङ्स खेल्दै लुम्बिनीलाई निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १७० को स्कोरसम्म पुर्याए।
५९ बल खेलेका रोहितले १० चौका र चार छक्कासहित ९५ रनको इनिङ्स खेले। रोहितले चौथो विकेटका लागि टम मुर्ससँग ११० रनको साझेदारी गरे। उनी पनि अर्धशतक बनाउन पाँच रनले चुके। ३८ बल खेलेका उनले दुई चौका र दुई छक्कासहित ४५ रन बनाए। सन्दीप जोरा १८ रनमा आउट हुँदा विवेककुमार यादव दुई रनमा अविजित रहे।
पोखराका विपिन खत्रीले सर्वाधिक दुई विकेट लिए। तीन ओभर बलिङ गरेका उनले १८ रन खर्चिए। म्याट क्रिचलीको नाममा एक विकेट रह्यो।
















