सर्वाधिक धनराशीको महिला गोल्डकप हुने
धनगढी । कैलालीको धनगढीमा सर्वाधिक धनराशीको प्रथम मुख्यमन्त्री विवाईसी महिला गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।
वनदेवी युवा क्लब तेघरीको आयोजनामा वैशाख ३ गतेदेखि १० गतेसम्म धनगढी रंगशालामा प्रथम मुख्यमन्त्री विवाईसी महिला गोल्डकपको आयोजना हुने धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ ।
सुदुरपश्चिम प्रदेश खेलकुद परिषद् मुख्य प्रवद्र्धक रहेको प्रतियोगितामा ८ टिमको सहभागीता रहने प्रतियोगिताका संयोजक दुर्गा अधिकारीले जानकारी दिए ।
महिला गोल्डकप नेपालमै महिला फुटबल खेलाडीहरुको सहभागीता रहने सर्वाधिक धनराशीको प्रतियोगिता रहेको उनले बताए ।
प्रतियोगिताको विजेताले नगद ५ लाख तथा उपविजेताले नगद २ लाख ५० हजार पाउने आयोजक वनदेवी युवा क्लबका अध्यक्ष सुसन जोशीले जानकारी दिए ।
उनका अनुसार प्रतियोगिताका प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई नगद ५ हजार तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई नगद १० हजार दिईनेछ । उत्कृष्ट खेलाडीलाई नगद ५० हजार दिईनेछ । प्रतियोगिता संञ्चालन गर्नका लागि झण्डै एक करोड बढी खर्च लाग्ने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
क्लबले सुदुरपश्चिममा गोल्डकप आयोजना गर्नुअघि प्रदेशकै सर्वाधिक धनराशीको फुटबल प्रतियोगिता आयोजना गर्दै आएको थियो । प्रदेशमा आयोजना हुने विभिन्न फुटबल प्रतियोगिताहरुको उपाधि समेत जितेको छ । फागुन २८ गते धनगढीमै सर्वाधिक धनराशीको मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप आयोजना गरिएको थियो ।












