काठमाडौं । यू–१८ राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।
साविक विजेता नेपाल साफ यू–१८ फुटबल च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएपछि मुख्य प्रशिक्षक श्रेष्ठले पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।
नेपालको प्रर्दशन र हारको सम्पुर्ण जिम्मेवारी लिदै श्रेष्ठले पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।
'अन्तराष्ट्रिय स्तरको फुटबलमा मेरो अनुभव नपुगेको देखियो । हारको सम्पुर्ण जिम्मेवारी म लिन्छु । र पदबाट राजीनामा दिएको घोषणा गर्न चाहन्छु ।' उनले खेलपाटीसंग भने ।
उनले नेपालको प्रर्दशन र नतिजाले आफ्नो अनुभव नपुगेको देखिएको प्रष्ट पार्दै उनले आफुले पद छाड्दा फुटबलमा राम्रो सन्देश जाने बताए ।
'म अझै अनुभव लिन्छु । फेरी फुटबलमा फर्कन्छु ।' उनले भने, 'मेरो राजीनामाले अरुमा समेत नराम्रो नतिजा निस्कदाँ पद छाड्ने दबाब पर्छ ।'
समूह चरणको अन्तिम खेलमा माल्दिभ्स र भुटानले गोल रहित बराबरी खेलेपछि नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।
नेपालले पहिलो खेलमा माल्दिभ्ससंग १–१ गोलको बराबरी खेलेको थियो भने भुटानसंग ३–० ले हारेको थियो ।
भुटानसंगको हारपछि नेपाल अघिल्लो चरण पुग्ने सम्भावना गणितिय रुपमा मात्र बाँकी थियो ।
श्रेष्ठले यसअघि नेपालको यू–२१ र यू–१८ टिम हेरेका थिए ।