काठमाडौं । भुटान नेपालमा जारी तेस्रो संस्करणको साफ यू-१८ च्याम्पियनसिप फुटबलमा समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको समूह चरणको अन्तिम खेलमा माल्दिभ्ससँग गोलरहित बराबरी खेल्दै भुटान समूह 'बी' को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
हलचोकस्थित शसस्त्र प्रहरी बल एपीएफको मैदानमा दुवै टोलीले पाएको मौका सदुपयोग गर्न नसक्दा बराबरी खेलेको हो । दोस्रो रोजाईका १० खेलाडीसहित मैदान उत्रिएको भुटानविरुद्ध माल्दिभ्सले गोल गर्न सकेनन् ।
यो बराबरीसँगै समूह विजेता बनेको भुटानले २ खेलमा ४ अंक जोड्यो । पहिलो खेलमा भुटानले नेपाललाई ३-० ले हराएको थियो ।
यस्तै माल्दिभ्स उपविजेता बन्दै सेमिफाइनल पुगेको छ । माल्दिभ्सले २ खेलमा २ अंक जोड्यो । माल्दिभ्सले पहिलो खेलमा नेपालसँग १-१ गोलको बराबरी खेलेको थियो ।
आयोजक नेपाल भने समूह चरणबाट बाहिरिएको छ । साविक विजेता समेत रहेको नेपालले २ खेलमा १ अंक जोड्यो ।