काठमाडौं । चितवन टाइगर्सले राजधानीमा जारी टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा पोखरा राइनोजलाई ७ विकेटले पराजित गर्दै चितवनले दोस्रो जित दर्ता गरेको हो ।
टियु क्रिकेटमा मैदानमा पोखराले दिएको १३० रनको लक्ष्य चितवनले १९ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।चितवनको जितमा पाउल स्टर्लिङले ५५ रनको अर्धशतकीय इनिङस खेले ।
यस्तै दिपेन्द्र सिंह ऐरीले पनि ५४ रनको अर्धशतकीय इनिङस खेले । पोखराका नन्दन यादबले २ विकेट लिदा सुशन भारीले १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १२९ रन बनाएको थियो ।
पोखराका लागि सुनील धमलाले ५१ रनको अर्धशतकीय इनिङस खेले । यस्तै विनोद भण्डारी २७ जोड्दा कप्तान कायल कोएट्जरले २३ रन जोडे । राजेश पुलामी मगर १२ रनमा आउट भए ।
चितवनका जर्ज स्कटले ३ तथा ललित सिंह भण्डारीले २ विकेट लिए ।
जितसंगै चितवनले ५ खेलबाट ४ अंक जोडेको छ । जितपछि चितवनले प्ले अफमा पुग्ने सम्भावना कायम राखेको छ । तर, चितवनको प्ले अफ यात्रा अन्य खेलले तय गर्नेछ ।
अब सोमबार हुने विराटनगर वारिवर्स र काठमाडौं किङस इलाभेनबीचको खेलपछि चितवनको प्ले अफ यात्राको छिनोफानो हुनेछ । उक्त खेलमा विराटनगरले जितेका विराटनगरले प्ले अफमा स्थान बनाउनेछ । काठमाडौंले जितेमा चितवन प्ले अफमा पुग्नेछ ।