काठमाडौं । तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा शनिबार (आज) दुई खेल संचालन हुँदैछ । शनिबार भैरहवा ग्लाडीयटर्स र काठमाडौं किङ्स इलाभेन तथा चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।
टियु क्रिकेटमा मैदानमा शनिबार हुने पहिलो खेलमा भैरहवा र काठमाडौंबीच खेल हुनेछ । दुई टोलीबीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।
काठमाडौंविरुद्ध मैदान उत्रदा भैरहवा लगातार चौथो जितको खोजीमा हुनेछ । दुई खेल अगावै प्ले अफमा पुगेको भैरहवा जित निकाल्दै शीर्ष दुई स्थानमा रहने प्रयासमा हुनेछ । दोस्रो स्थानमा रहेको भैरहवाले ३ खेलबाट ६ अंक जोडेको छ ।
यता, काठमाडौं भैरहवालाई हराएर आफ्नो प्ले अफ सुरक्षित गर्न चाहन्छ । तीन खेलबाट ४ अंक जोडेर काठमाडौं चौथो स्थानमा छ । भैरहवालाई हराएमा काठमाडौंको प्ले अफ सम्भावना बलियो हुनेछ ।
यस्तै शनिबार हुने दोस्रो खेलमा चितवन र पोखराबीच अपरान्ह १ बजे प्रतिस्पर्धाका लागि मैदान उत्रदै छन् ।
यस खेल चितवनका लागि महत्वपूर्ण रहेको छ । चितवनलाई प्ले अफको सम्भावना कायम राख्न यस खेल जित्नै पर्ने दबाब छ ।
चितवनले ४ खेलबाट २ अंक जोडेको छ । चितवनको यो अन्तिम खेल हो ।
यता,पोखराका लागि यस खेल प्रतिष्ठा लडाई मात्र हुनेछ । तर, पोखरालाई पहिलो जित निकाल्ने अवसर भने रहेको छ । अघिल्ला चार खेल गुमाएर प्ले अफबाट बाहिरिएको पोखराले अंक जोड्न सकेको छैन ।