काठमाडौं । काठमाडौं किङ्स इलाभेनले तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ ।
शुक्रबार भएको खेलमा पोखरा राइनोजलाई ५ विकेटले पराजित गर्दै काठमाडौंले दोस्रो जित निकालेको हो ।
टियु क्रिकेट मैदानमा पोखराले दिएको १६६ रनको लक्ष्य काठमाडौंले १९ ओभर २ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । काठमाडौंको जितमा केभीन ओ ब्राएनले अर्धशतकीय इनिङस खेल्दै अविजित ५४ रन बनाए ।
यस्तै रोहन मुस्तफाले ४० रन जोड्दा सुब्रमनियन आनन्दले २७ रन जोडे । सागर पुन १८ रनमा आउट भए । पोखराका बिक्रम सोबले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १६५ रन बनाएको थियो । पोखराका लागि ओपनर रिचर्ड लेभीले ३८ रन जोडे ।
यस्तै कप्तान कायल कोएट्जर र पल कघलिनले समान ३७/३७ रन जोडे । विनोद भण्डारी १७ रनमा आउट भए । काठमाडौंका लागि बिक्रम भुसाल र केभीन ओ ब्रायनले २/२ विकेट लिए ।
जितसंगै काठमाडौंले प्ले अफमा पुग्ने सम्भावना कायम राखेको छ । काठमाडौंले ३ खेलमा ४ अंक जोडेको छ ।
काठमाडौंसंगको हारसंगै पोखरा प्रतियोगिताबाट बाहिरिएको छ । पोखरा ईपीएलबाट बाहिरिने पहिलो टोली समेत बनेको छ । पोखराले ४ खेलमा अंक जोड्न सकेको छैन ।