काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत पोखरा राइनोजले जितका लागि काठमाडौं किङ्स इलाभेनलाई १६६ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १६५ रन बनाउन सक्यो ।
पोखराका लागि ओपनर रिचर्ड लेभीले ३८ रन जोड्दा कप्तान कायल कोएट्जर र पल कघलिनले समान ३७/३७ रन जोडे । विनोद भण्डारी १७ रनमा आउट भए ।
काठमाडौंका लागि बिक्रम भुसाल र केभीन ओ ब्रायनले २/२ विकेट लिए ।
यस खेल दुवैको लागि महत्वपूर्ण रहेको छ । पोखरा अघिल्ला तीन खेलको पराजयलाई अन्त्य गर्ने लक्ष्यमा हुनेछ । तर, बलियो काठमाडौंविरुद्ध पोखरालाई कठिन हुनेछ ।
तीन खेलमा अंक जोड्न नसकेको पोखरा पुछारमा छ । प्ले अफको गणितीय संभवाना बोकेको पोखरा काठमाडौंसंग पराजित भएमा प्रतियोगिताबाट बाहिरिने छ ।
यता, २ खेलमा २ अंक जोडेको काठमाडौं चौथो स्थानमा छ । आज पोखरालाई हराएर काठमाडौं प्ले अफ सम्भावना बलियो बनाउन चाहन्छ ।
ईपीएलको यस सिजन ललितपुर प्याट्रीयट्स र भैरहवा ग्लाडीयटर्सले प्ले अफमा स्थान पक्का गरिसकेका छन् ।