काठमाडौं । बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को नयाँ केन्द्रीय सम्झौतामा अटाएका छैनन् ।
क्यानले बुधबार जारी गरेको २०२३ को जनवरी देखि जुनसम्मको केन्द्रिय सम्झौता सार्वजनिक गर्दा लामिछाने कुनै श्रेणीमा नपरेका हुन् ।
एक नाबालिकलाई बलात्कारको आरोप लागेपछि क्यानले सन्दीपलाई निलम्बन गरेको थियो । तर , क्यानको निलम्बन मंगलबार मात्र फुकुवा भए पनि उनी केन्द्रीय सम्झौतामा नपरेका हुन् ।
सन्दीपविरुद्धको बलात्कार मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा छ ।
तर, गत पुस २८ गते उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सन्दीप पुस १९ गते धरौटी बुझाएर थुनामुक्त भएका थिए ।
यता, सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च अदालतमा मंगलबार निवेदन परेको छ।
महान्यायाधिवक्ता कार्यालयले उच्च अदालतको आदेश बदरको माग गर्दै सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएको हो ।
एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।
सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी बृत्त गौशालामा एक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो ।
भदौ २३ गते काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
सन्दीप गत असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।