काठमाडौं । नाबालिगलाई बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने आज बिहीबार आईपुग्ने भएका छन् ।
सन्दीपले सामाजिक संजाल फेसबुकबाट आफु बिहीबार बिहान १० बजे कतार एयरवेजबाट नेपाल आईपुग्ने बताएका छन् ।
सन्दीपले आफुविरुद्ध झुटो आरोप लागेको बताउँदै नेपाल फर्के लगत्तै कानुनी लडाई लड्ने समेत बताएका छन् ।
उनले आफु निर्दोष रहेको र आफुले छिटो भन्दा छिटो न्याय पाउनेमा विश्वस्त रहेको बताएका हुन् ।
सन्दीपविरुद्ध भदौ २१ गते प्रहरी बृत्त गौशालामा एक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो ।
सन्दीपले काठमाडौंकी १७ वर्षीया नाबालिगलाई भदौ ५ गते भक्तपुरको नगरकोट पुर्राएको त्यसपछि काठमाडौंको एक होटलमा ल्याएर रातको समय जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।
यस्तै काठमाडौं जिल्ला अदालतले भदौ २३ गते पक्राउ पुर्जी जारी गरेको थियो ।
तर, सन्दीप प्रहरीको सम्पर्कमा छैनन् । उनलाई प्रहरीले फरार सूचीमा राखेको छ ।
सन्दीपविरुद्ध इन्टरपोलले डिफ्युजन नोटिस समेत जारी गरिसकेको छ ।
सन्दीपले फेसबुकबाट भने आफु निर्दोष रहेको बताउदै आएका छन् ।