काठमाडौं । वेस्ट इन्डिजका शिम्रोन हिटमायरले अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप गुमाउने भएका छन् ।
क्रिकेट वेस्ट इन्डिज (सीडब्लुआई) ले सोमबार आईसीसीलाई हिटमायर विश्वकपमा उपलब्ध नहुने जानकारी गराएको छ ।हिटमायरको स्थानमा शमर ब्रुक्सलाई विश्वकप खेल्ने टोलीमा समावेश गरिएको छ ।
हिटमायरले अष्ट्रेलियाका लागि आफ्नो उडान छुटाएका थिए । पारिवारिक कारण उनको उडान दुई दिन पर सारिएको थियो । तर, उडानको बिहान हिटमायरले वेस्ट इन्डिजका क्रिकेट निर्देशक जिम्मी एडम्सलाई आफू समयमै विमानस्थल पुग्न नसक्ने जानकारी दिएका थिए ।
एडम्सले भने, 'उनलाई यो स्पष्ट पारिएको थियो कि यदि उनको अष्ट्रेलिया यात्रामा थप ढिलाइ र समस्याहरू छन् । हामीसँग उनलाई टोलीमा प्रतिस्थापन गर्नुको विकल्प छैन । किनकि हामी यस अत्यन्त महत्वपूर्ण प्रतियोगिताको तयारीको लागि टोलीको क्षमतामा सम्झौता गर्न तयार छैनौं।'
टी-ट्वान्टी विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म आयोजना हुँदैछ ।