काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा गैरआवासीय नेपाली संघ (एनआरएनए स्पोर्ट्स एकेडेमी) को कप्तानी गरेका सुनम गौतमले आफुहरुलाई संस्थाले बिचल्लीमा पारेको बताएका छन् ।
गौतमले आफुहरुलाई एनआरएनए स्पोर्ट्स एकेडेमीले बिचल्लीमा पारेको भन्दै एनआरएनए नामको खेलकुद संस्थालाई सबै खेलाडीले बहिष्कार गर्नु पर्ने बताए ।
'हामीलाई आफ्नो कर्मभुमीबाट यहाँ बोलाएर सबै जनालाई यस टिमका जिम्मेवार भनिएकाहरुले बिचल्लीमा पारे', गौतमले खेलपाटीसँग भने, 'हामीहरुको हरेक कुराको व्यवस्था यस एकेडेमी अन्तर्गत हुने भनियो तर उनीहरुको उद्देश्य केवल कसरी हुन्छ पैसा कमाउनु मात्र रहेछ।'
एनआरएनए टोलीले नवौं राष्ट्रिय खेलकुदको विभिन्न खेलमा सहभागिता जनाउदै छ । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ ।
पुरुष क्रिकेट भने काठमाडौंमा सम्पन्न भईसकेको छ । एनआरएनले पुरुष क्रिकेटमा पदक जित्न सकेन ।
एनआरएनले पुरुष क्रिकेट अन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा सुदुरपश्चिम प्रदेशसँग पराजित भएको थियो।
टिम व्यवस्थापनका जिम्मेवार व्यक्तिहरु खेलाडीले सम्पर्क गर्दा सम्पर्कमा नआउने तथा टिमको व्यवस्थापनमा उनीहरु पुरै चुकेको समेत गौतमले बताए।
गौतमले एनआरएनए स्पोर्टस एकेडेमीलाई नेपालको कानुन अनुसार आर्थिक अपचलन मुद्दामा छानबिन गर्नु पर्ने समेत बताए।
'हामीले त एनआरएनएको वास्तविक रुप देख्यौ नै एक खेलाडी रहेकोले यस एनआरएनए टिमसँग कुनै पनि खेलाडी आबद्ध नभईदिनु होला,' गौतमले भने, 'आफुहरुले लामो समयसम्म सहेर बसे पनि अब चै अति भएर कप्तानको रुपमा यस विषयलाई बाहिर ल्याएको हुँ ।'
टिमका धेरै सदस्यहरुलाई आफ्नो व्यक्तिगत खर्चमा नेपाल आउन बताएको तर यहाँ केही खर्च समेत नदिएको उनले बताए ।