काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले युवा खेलाडी अर्जुन साउद राम्रो प्रदर्शन गरेर नै टोलीमा परेको बताएका छन् ।
कप्तान सन्दीपले साउदले उमेर समूहको क्रिकेटबाट नै आफुलाई प्रमाणित गरि राष्ट्रिय टिमसम्म आएकाले उनको प्रदर्शनबाट टिमले अपेक्षा गरेको बताए ।
'उनले राम्रो स्तरको क्रिकेट खेलेर यहाँसम्म आईपुगेका हुन् उनको सोहि क्षमताको राष्ट्रिय टोलीले समेत अपेक्षा गरेको छ,' सन्दीपले भने, 'उनले आफुलाई प्रमाणित गरेर नै राष्ट्रिय टिमसम्म आईपुगेका हुन् ।'
सन्दीपले केन्याको कन्डिसन तथा त्यहाँको पिचको अवस्था हेरर नै कुन कुन खेलाडीले मौका पाउने थाहा हुने बताए।
'युवा खेलाडीलाई यस्ता सिरिजमा मौका दिन हामी तयार रहेका छौँ,' उनले थपे ।
विवेक यादव निरन्तर रुपमा टिममा रहे पनि उनले यथेस्ट मौका पाउन सकेका छैनन् । यस्ता प्रतिभाहरुलाई धेरै भन्दा धेरै मौका चाहिने उनले बताए ।
यस सिरिजका लागि नेपाली भदौ ७ गते केन्या पुग्ने तालिका छ । नेपालले भदौ ९ देखि २० सम्म केन्यासँग सिरिज खेल्दैछ ।
नेपालले घरेलु टोलीसँग सुरुआतमा ५ खेलको टी–ट्वान्टी सिरिज खेल्नेछ । त्यस लगत्तै ३ खेलको एकदिवसीय अभ्यास सिरिज हुनेछ ।
राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले केन्या भ्रमणबाट आफ्नो औपचारिक जिम्मेवारी नेपाली टिम सम्हाल्नेछन् ।