काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरको नेतृत्वमा नेपाली टोलीले प्रशिक्षण सुरु गरेका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले प्रभाकरको नेतृत्वमा नेपाली टोलीले प्रशिक्षण सुरु गरेको जानकारी गराएको छ ।
प्रभाकरले पहिलो दिन टिमसँग प्रशिक्षण गर्दा अफगानिस्तानको सम्झना दिलाएको बताए ।
'आज मैले पहिलो पटक नेपाली टोलीसँग काम गर्ने अवसर पाए टिमका सदस्यमा युवाको बाहुल्यता देख्दा २०१६ मा मैले बलिङ प्रशिक्षण गराएको अफगानिस्तान टिमको सम्झना आयो । अफगानिस्तान आज जुन स्थानमा रहेको छ त्यसको मुल कारणमा उनीहरुको त्यस समयका युवा खेलाडी नै हुन्,' उनले भने, 'नेपाली खेलाडीहरुमा समेत मैले त्यो क्षमता देखे।'
युवा खेलाडीमा सिक्ने उत्सुकता र तत्परता रहने समेत प्रभाकरले बताए । नेपाली क्रिकेटलाई नयाँ तहमा पुर्याउने जिम्मा आफुमा आएको समेत उनले बताए।
'नेपालको लक्ष्य टेस्ट मान्यताको मुलुक रहे पनि सुरुमा आफु यसलाई आईसीसीको राम्रो लेभलमा पुर्याउने रहेको छ', प्रभाकरले बताए।
१ वर्षे सम्झौतामा प्रभाकर शनिबार नेपाल आईपुगेका हुन्।