काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले राम्रो ब्याटर बन्नका लागि पावरले मात्र नपुग्ने बताएका छन् ।
राजधानीका आइतबार आयोजित एक कार्यक्रममा बोल्दै प्रभाकरले विश्वमा टेक्निकल रुपमा राम्रो रहेका ब्याट्सम्यान मात्र सफल भएको बताए ।
'हामीले भारतका विराट कोहली तथा केएल राहुललाई हेर्न सक्छौ उनीहरुमा पावर खेल भन्दा पनि टेक्निकल रहेकाले पनि सफल भएका छन्,' प्रभाकरले भने,'नेपाली खेलाडीमा त्यहिँ अभाव देखेको छु । आज एक दिनको नेपाली खेलाडीसँगको बसाईमा मैले क्षमता सुधार हुने देखे ।'
प्रभाकरले आफुले ३-४ महिनामा नेपाली क्रिकेटमा धेरै सकारात्मक परिवर्तन ल्याउन सक्ने बताए । प्रभाकरले आगामी खेलहरुमा शतप्रतिशत नतिजा निकाल्ने गरि तयारी गर्ने समेत बताए ।
मुख्य प्रशिक्षक पुबुदु दासानायकेले केहि साता अघि राजीनामा दिएपछि क्यानले प्रभाकरलाई नियुक्त गरेको हो ।
क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरिएको जनाएको छ । नेपालको मुख्य प्रशिक्षकका रुपमा प्रभाकरको पहिलो प्रतियोगिता केन्याविरुद्धको रहने छ । नेपाली टोली भदौ पहिलो साता केन्या भ्रमणमा निस्कने छ ।
केन्यामा रहँदा नेपालले ५ खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ । नेपालको ३ खेलको ५० ओभरको सिरिज पनि रहेको छ । भारतका पूर्व अलराउण्डर प्रभाकर रणजी ट्रफी विजेता प्रशिक्षक हुन् ।
प्रभाकरले भारतका लागि ३९ टेस्ट र १ सय ३० एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए । उनले अफगानिस्तानको बलिङ प्रशिक्षक रहेर काम गरिसकेका छन् । उनले रणजी ट्रफी टिम दिल्लीसँगै राजस्थान र युपी क्रिकेट एसोसियनको प्रशिक्षक भएर काम गरिसकेका छन्।