काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डको त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा घरेलु टोली विजयी भएको छ ।
स्कटल्याण्डको मनोफिल्ड क्रिकेट मैदानमा शनिबार राति भएको खेलमा अमेरिका ५ विकेटले पराजित भएको हो ।
घरेलु टोलीसहित अमेरिका तथा यूएई समावेश लिग टूको यस सिरिजमा स्कटल्याण्डको यो दोस्रो जित हो ।
अमेरिकाले दिएको २ सय ९६ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले १४ बल बाँकी रहदै ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
उसका लागि कलुम म्याकलोयडले १ सय १७ रनको शतकिय ईनिङ खेले । क्रेयज वालेकले ४५ तथा कप्तान क्याथु क्रसले ४० रन बनाए ।
कायल कोट्जरले २८ तथा क्रिस ग्रेभिस र मिचेल लिक्सले अविजित रहदै १९/१९ रन बनाए ।
अमेरिकाका लागि नोटिस किन्एङ्जीले २ तथा शौरभ नेत्रभाल्कर,नर्सिङ पटेल तथा स्टेभन टेलरले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको पाहुना टोलीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९५ रन बनायो ।
उसका लागि आरोन जोन्सले अविजित १ सय २३ रनको शतकीय ईनिङ खेले ।
सुसान्त मोदिनीले ५२ रनको अर्धशतकीय ईनिङ खेले । स्टेभन टेलरले ३७ तथा इयान हल्याण्डले २० रन बनाए ।
कप्तान मोनाक पटेलले १९ तथा गजानन्द सिंहले १३ रन बनाए ।
घरेलु टोलीका गाभिन म्यान र मार्क वाटले समान २/२ विकेट लिए । एडरिन निल,मिचेल लिक्स तथा क्रिस ग्रेभिसले समान १/१ विकेट लिए ।
सिरिज अन्तर्गतको तेस्रो खेल स्कटल्याण्ड र यूएईबीच आईतबार हुनेछ ।