काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर नेपाल आईपुगेका छन् ।
मुख्य प्रशिक्षक प्रभाकर शनिबार साँझ नेपाल आईपुगेका हुन् । उनलाई क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरे ।
नेपाल आईपुगेका प्रभाकरले संचारकर्मीसँग कुरा गर्दै चुनौती स्वीकार गर्ने नेपाल आएको बताए ।
'मेरा लागि चुनौती छ, चुनौतीलाई स्वीकार गर्दै आएको छु । नेपालका युवा खेलाडीलाई म सहयोग गर्न तयार छु,' उनले भने ।
उनले नेपाली टोलीलाई २-३ महिनामा आफुले सुधार गर्ने बताए । नेपाली खेलाडीले खेल्ने शैली आफुले भिडियोमा हेरेको समेत उनले बताए ।
मुख्य प्रशिक्षक पुबुदु दासानायकेले केहि साता अघि राजीनामा दिएपछि क्यानले प्रभाकरलाई नियुक्त गरेको हो । क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरिएको जनाएको छ ।
नेपालको मुख्य प्रशिक्षकका रुपमा प्रभाकरको पहिलो प्रतियोगिता केन्याविरुद्धको रहने छ ।
नेपाली टोली भदौ पहिलो साता केन्या भ्रमणमा निस्कने छ । केन्यामा रहँदा नेपालले ५ खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ । नेपालको ३ खेलको ५० ओभरको सिरिज पनि रहेको छ ।
भारतका पूर्व अलराउण्डर प्रभाकर रणजी ट्रफी विजेता प्रशिक्षक हुन् । प्रभाकरले भारतका लागि ३९ टेस्ट र १ सय ३० एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए । उनले अफगानिस्तानको बलिङ प्रशिक्षक रहेर काम गरिसकेका छन् ।
उनले रणजी ट्रफी टिम दिल्लीसँगै राजस्थान र युपी क्रिकेट एसोसियनको प्रशिक्षक भएर काम गरिसकेका छन्।