काठमाडौं । नेपाल र केन्याबीचको तीन एकदिवसीय खेलले लिस्ट 'ए' मान्यता पाउने सम्भावना रहेको छ ।
केन्यासँग एकदिवसीय अन्तराष्ट्रियको मान्यता रहेको छैन । त्यसैले यस सिरिज एकदिवसीय अन्तराष्ट्रियको नभई लिस्ट 'ए' को गराउन केन्या क्रिकेट संघले आईसीसीमा पहल गरिरहेको छ ।
नेपालसँग एकदिवसीय अन्तराष्ट्रियको मान्यता रहेको छ । केन्यासँग १९९६ देखि २०१४ सम्म एकदिवसीय अन्तराष्ट्रियको मान्यता रहेको थियो ।
'नेपाल र केन्याबीचको खेल लिस्ट 'ए' मान्यता दिलाउन आयोजकका तबरले केन्याले आईसीसीसँग पहल गरिरहेको छ,' क्यानका एक केन्द्रीय सदस्यले खेलपाटीसँग भने, 'यसमा आईसीसी सकारात्मक रहेको छ ।'
आईसीसीको नियम अनुसार टी-ट्वान्टी खेल भने अन्तराष्ट्रिय मान्यताको नै हुनेछ ।
क्यानले घरेलु टोली केन्यासँगको सिरिजको खेल तालिका सार्वजनिक गरिसकेको छ ।
नेपालले सुरुआतमा ५ खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।
पहिलो टी-ट्वान्टी अगस्ट २५ मा हुनेछ । यस्तै अन्तिम टी-ट्वान्टी अगस्ट ३० मा हुनेछ ।
त्यस लगत्तै ३ खेलको एकदिवसीय सिरिज हुनेछ ।
पहिलो एकदिवसीय सेप्टेम्बर २, दोस्रो एकदिवसीय सेप्टम्बर ३ र अन्तिम एकदिवसीय सेप्टेम्बर ५ मा हुनेछ ।
केन्या भ्रमणका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा टोली घोषणा गरिसकेको छ ।