काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) द्वारा नेपाल टी-ट्वान्टी लिगको घोषणासँगै नेपाली क्रिकेटमा नयाँ अध्यायको सुरुआत हुँदैछ ।
क्यानले पहिलो पटक आयोजना गर्न लागेको फ्रेन्चाइज लिग आगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुनेछ । लिगमा नेपालका विभिन्न ६ शहरका ६ टोलीको सहभागीता हुँदैछ ।
क्यानले लिगमा सहभागी रहने चार टोलीको नाम र टिम मालिकको घोषणा गरिसकेको छ । जसमा तीन टोलीको स्वामित्व विदेशी कम्पनीको नाममा रहेको छ ।
विश्वमा फ्रेन्चाइज लिगको बढ्दो क्रेजसँगै क्यानलाई नेपाल टी-ट्वान्टी लिगलाई स्थापित गराउनु कठिन रहेको छ । विश्वमा धेरै फ्रेन्चाइज लिग रहेको सन्दर्भमा नेपाल टी-ट्वान्टी लिगले आफ्नो स्थान फरक र विशेष बनाउन जरुरी रहेको छ ।
क्यानका केन्द्रीय सदस्य दुर्गाराज पाठकले एसोसिएट मुलुकमा फ्रेन्चाइज आयोजना हुनु नै सबैभन्दा विशेष मान्छन् ।
'एसोसिएट राष्ट्र भएकाले हामीलाई लिग आयोजनाका लागि कठिन नै रहेको थियो । तर, हाम्रो अथक मेहनत र क्रिकेट समर्थकको साथ रहेकाले यो सरल भयो ,' पाठकले खेलपाटीसँग भने, 'पूर्ण सदस्य राष्ट्रका खेलाडीसँग नेपालका खेलाडीले ड्रेसिङ रुम सेयर गर्न पाउन्छन् । उनीहरुबाट क्रिकेट क्षमता तथा अनुभव लिई त्यसबाट आफ्नो खेल सुधार गर्न सकिन्छ ।'
क्यान निलम्बनमा रहँदा नेपालमा केहि निजी फ्रेन्चाइज क्रिकेट लिगहरुको आयोजना भए । क्यान अहिले ती लिग भन्दा स्तरीय बनाउने योजनासहित अघि बढेको छ ।
'हिजोका दिनमा क्यान नरहँदा विभिन्न निजि घरानाहरुले विभिन्न लिगहरुको आयोजना गरे । यसले नेपाली क्रिकेट बचाई राख्न केहि मद्दत मिल्यो । तिनिहरुले माथिल्लो स्तरको क्रिकेटको अनुभुती दिलाएको छ यसलाई अझ बढाउने हाम्रो कर्तव्य रहेको छ । र, त्यो स्तरियता मैदानमा देखिने छ,' पाठकले भने ।
क्यान हरेक कुरा बोलेर भन्दा पनि मैदानबाट नै देखाउने पक्षमा रहेको पनि उनले बताए ।
'केही वर्षमा पूरा विश्वमा त नसकिएला तर एसोसिएट र केहि कमजोर टेस्ट राष्ट्रहरुमा यो लिग स्तरिय र फरक हुनेछ,' पाठकले थपे ।