काठमाडौं । इंग्ल्याण्डविरुद्ध आगामी महिनामा हुने एक मात्र टेस्ट अघि भारतका कप्तान रोहित शर्मालाई कोभिड १९ को संक्रमण देखिएको छ । कोभिडबाट संक्रमित भएपश्चात शर्मा हाल आइसोलेसनमा छन् । गत साता लिचेस्टरसायरविरुद्धको अभ्यास खेलका दौरान गरिएको परिक्षणमा शर्मामा कोभिड पोजेटिभको संक्रमण देखिएको थियो । सोही कारण उनले दोस्रो ईनिङ्स गुमाएका थिए । उनको स्थानमा मंयक अग्रवाललाई टिममा बोलाईएको छ ।
भारतीय टिमले जुलाई १ मा इङ्ल्याण्डसँग एकमात्र टेष्ट म्याच खेल्दैछ । कोभिडको संक्रमणका कारण नियमित कप्तान रोहित टिममा देखिने सम्भावना न्युन छ । कोभिडबाट बाहिर आएपनि उनी पूर्ण रुपमा फिट हुन समय लाग्ने देखिन्छ । रोहितको अनुपस्थितीमा भारतीय टिमको नेतृत्व कसले गर्ने भन्ने विषयलाई चासोका साथ हेरिएको छ । रोहित टिममा नहुदाँ टेष्ट क्रिकेटमा भारतीय टिमको कप्तानी निम्न तीन खेलाडीले गर्न सक्ने देखिन्छ ।
१) जसप्रित बुमराह :
भारतमा मात्र नभएर विश्वमै सफल तिव्र गतिका बलर हुन्, जसप्रित बुमराह । हालसम्म टिममा उनको प्रर्दशनका अधारमा बुमराहलाई कप्तानको दाबेदारको रुपमा हेरिएको छ । यदी बुमराहले कप्तानीको जिम्मेवारी पाएको खण्डमा कपिल देव पछि भारतीय क्रिकेट टिमको नेतृत्व गर्ने बुमराह पहिलो तिव्र गतिका बलर बन्नेछन् ।
यसअघि श्रीलंका भ्रमणका क्रममा उनले टेस्ट तथा एकदिवसिय खेलमा उपकप्तानको जिम्मेवारी निभाएका थिए । सो सिरिज भारतले सहज रुपले जितेको थियो । उनले भारतका लागि २९ टेस्टमा १ सय २३ विकेट लिएका छन् ।
२) रिषभ पन्त :
प्रभावशाली क्रिकेटर पन्तसँग आईपीएल तथा सिमित ओभरमा भारतीय टिमको कप्तानी गरेको अनुभव छ । सोही कारण उनले आसन्न टेष्ट क्रिकेटमा भारतीय टिमको कप्तानी पाउने सम्भावना प्रवल छ । सो टेष्ट सिरिजमा २–१ को अग्रता कायम गर्नमा उनको भुमिका महत्वपूर्ण छ ।
आईपीएल टोली दिल्ली क्यापिटल्सका लागि पन्तले दुई संस्करण कप्तानी गरेका छन् । हालै मात्र भारतीय टिमको कप्तानी पन्तले गरेका थिए । उनको कप्तानीमा दक्षिण अफ्रिकाविरुद्धको टी ट्वान्टी सिरिजमा भारतले पुनरागमन गदै २–२ को बराबरी खेलेको थियो ।
३) विराट कोहली :
कोहलीले कप्तानको जिम्मेवारीबाट सन्यास लिईसकेका छन्, तर टिमलाई आवश्यकता परेको खण्डमा उनी सोही जिम्मेवारीमा फर्कने सम्भावना उत्तिकै छ । गत वर्ष दक्षिण अफ्रिकाविरुद्ध २–१ ले सिरिज गुमाएपछि कोहलीले कप्तानी छोडेका थिए । तर उनको नेतृत्वमा खोट लगाउने ठाउँ छैन ।
भारतीय टेस्ट टिमलाई नयाँ उचाईमा पुर्याएका कोहलीले पहिलो संस्करणको टेस्ट च्याम्पियनसिपमा समेत टोलीलाई फाइनल पुर्याएका थिए । ६८ टेस्टको कप्तानी गरेका कोहलीले ४० खेलमा जित दिलाएका थिए । उनलाई भारतीय टेस्ट ईतिहासको सर्वाधिक सफल कप्तान मानिन्छ । इङ्ल्याण्डविरुद्ध सिरिजमा २–१ को अग्रता बनाउँदा भारतीय टिमको कप्तानी कोहलीलेनै गरेका थिए, सोही कारण सिरिजको अन्तिम खेलको नेतृत्व उनैले गर्ने सम्भावना छ ।