काठमाडौं । अफगानिस्तानले नेदरल्यान्ड्सविरुद्धको तीन खेलको एकदिवसीय सिरिज क्लिन स्विप गरेको छ ।
दोहामा मंगलबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा ७५ रनको जित निकाल्दै अफगानिस्तानले सिरिज ३-० ले आफ्नो बनाएको हो ।
अफगानिस्तानले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ४२ ओभर ४ बलमा अलआउट हुँदै १ सय ७९ रन मात्र बनाउन सक्यो ।
नेदरल्यान्ड्सका कोलिन एकरम्यानले ८१ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीको हार टार्न सकेनन् । यस्तै स्कट एड्वार्डले पनि ५४ रनको अर्धशतकीय इनिङ्स खेले ।
अफगानिस्तानका क्विस अहमदले ३ तथा राशिद खानले २ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ५ विकेट गुमाएर २ सय ५४ रन जोडेको थियो ।
अफगानिस्तानका नाजिबउल्लाह जाड्रनले ७१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । त्यस्तै रियाज हसनले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दा रहमत साहले ४८ रन बनाए । कप्तान हस्मादउल्लाह शाहिदीले २८ रन जोडे ।
नेदरल्यान्ड्सका भीभीयान किङ्मा, फ्लोयड, ब्राण्डन ग्लोभर, साकीब र आर्यन दतले १/१ विकेट लिए ।