काठमाडौं । दक्षिण अफ्रिका क्रिकेट टिमका मुख्य प्रशिक्षक मार्क बाउचर बर्खास्त हुने सम्भावना बढेको छ ।
४५ वर्षीय पूर्व क्रिकेटर समेत रहेका बाउचरमाथि जातीवादलाई लिएर गम्भिर दुर्व्यवहार गरेको आरोप लगाइएको छ ।
त्यसैको कारवाहीस्वरुप बाउचरको प्रशिक्षक पदबाट बर्खास्त हुने सम्भावना रहेको छ ।
दक्षिण अफ्रिका क्रिकेट बोर्डले जातीवादलाई लिएर गम्भिर दुर्व्यवहार गरेको आरोपमा बाउचरमाथि कारवाही हुने तथा उनलाई प्रशिक्षक पदबाट बर्खास्त गरिन सक्ने जनाएको छ ।
सोसल जस्टिस एण्ड नेशन बिल्डीङ कमिसनको एक छानविनले दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर बाउचरले जातीवादलाई गम्भिर दुर्व्यवहार गरेको जनाएको थियो ।
विभिन्न सुनुवाईका क्रममा कैयौ कालावर्णका खेलाडीहरुले राष्ट्रिय टिममा हुदा बाउचरबाट जातीवाद र विभेदको सिकार भएको बताएका थिए ।
बाउचरले पनि टिममा हुदा कालावर्णका खेलाडीलाई अपमान हुने खालका गीत गाएको तथा उनीहरुको उपनाम प्रयोग गरेको स्विकार गर्दै उक्त कार्यलाई लिएर माफी समेत मागेका छन् ।
दक्षिण अफ्रिकाका पूर्व बलर पल एडम्सले कमिसनलाई सन् १९९० को दशकको अन्त्यमा टोलीको गीतमा जातीय विभेदी भाषा प्रयोग गरिएको जनाएका थिए ।
पूर्व विकेटकिपर बाउचरले सन् १९९७ देखि २०१२ सम्म दक्षिण अफ्रिकाका लागि १ सय ४७ टेस्ट र २ सय ९५ एकदिवसिय खेलेका छन् ।