काठमाडौं । १९ वर्षीय युवा आक्रामक ब्याट्म्यानको रुपमा परिचय बनाउन सफल युवा क्रिकेटर लोकेश बमको नेपाली राष्ट्रिय क्रिकेट टिमसम्मको यात्रा कुनै लोककथा भन्दा कम छैन ।
प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा गरेको उत्कृष्ट प्रदर्शनले नै उनलाई सिधै राष्ट्रिय टिममा स्थान दिलाउन सफल भयो ।
त्यो पनि आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट खेल्ने टोलीमा ।
‘राष्ट्रिय टिममा पहिलो पटक पर्दैछु खुसी लाग्छ नै । उत्साहित पनि छु । मेरो साकारात्मक पक्ष देखेर नै टिममा राखेको छ, त्यसैले ग्लोबल छनोटमा खेल्ने मौका मिल्छ भन्ने लाग्छ,’ लोकेशले खेलपाटीसँग भने ।
प्रतियोगिता अघि नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको ३० सदस्यीय प्रारम्भिक टोलीमा समावेश नभएका लोकेशले सिधै १६ जनाको टोलीमा स्थान बनाउन सफल भए ।
खासमा सुदुरपश्चिम प्रदेशको धनगढी घर भई नेपाल एपीएफ क्लबका लागि प्रधानमन्त्री कप खेलेका लोकेशले निडर र आक्रामक ब्याटिङको नमुना प्रदर्शन गरे ।
लोकेशका अनुसार उनको आक्रामक व्याटिङको राज भनेको उनले गरेको मेहनत नै हो ।
‘आक्रामक ब्याटिङको राज भनेको मेरो मेहनत नै होला । लामो समय भएको थियो मैले रन पनि बनाउन सकेको थिएन । आफूलाई प्रमाणित पनि गर्नुथियो, म सँग क्षमता पनि थियो, त्यो प्रमाणित गर्नुथियो,’ लोकेशले थपे ।
लोकेशले पीएम कप अन्तर्गत बलिया तथा राष्ट्रिय खेलाडीसम्मिलित टिमकाविरुद्ध उत्कृष्ट ब्याटिङ गर्न सफल भए ।
प्रतियोगिताको सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबविरुद्ध १४ बलमै अर्धशतक प्रहार गरेका थिए । उनले सो खेलमा १८ बलमै ६६ रन बनाउदा ९ छक्का हिर्काएका थिए ।
लोकेशले समूह चरणमा बागमती प्रदेशविरुद्ध २१ बलमा अर्धशतक पुरा गर्दा १० चौका प्रहार गर्न भ्याए ।
फाइनलमा पनि पुलिसविरुद्ध १५ बलमा २७ रनको योगदान गर्दा तीन छक्का हिर्काउन सफल भए ।
सायद उनको आक्रमण ब्याटिङ देखेर होला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले प्रतियोगितापछि नेपाली टोलीमा युवा खेलाडीले स्थान पाउने सुनिश्चित गरेका थिए ।
दासानायकेले प्रतियोगितामा युवा खेलाडीको प्रदर्शन हेर्दा नेपाल राम्रो अवस्थामा रहेको प्रतिक्रिया दिएका थिए ।
त्यसको केही समय वित्न नपाउदै घोषणा भएको नेपाली टोलीमा लोकेशले स्थान पाए ।
खासमा लोकेशले गत महिना अर्थात डिसेम्बर २३ देखि ३१ सम्म युएईमा एकदिवसिय फर्मेटमा भएको एसीसी यू–१९ एसीया कपका लागि नेपाली टिममा स्थान समेत पाएका थिएनन ।
किनभने नोभेम्बर २३ देखि डिसेम्बर ५ सम्म टियु क्रिकेट मैदानमा एसिया कपको छनोटका लागि एकदिवसिय फर्मेटमा भएको यू–१९ राष्ट्रिय प्रतियोगितामा लोकेशको प्रदर्शन खासै सम्झन लाएक थिएन ।
उनले ७ मध्ये ५ खेलमा ब्याटिङ गर्दा केवल एक खेलमा मात्र अर्धशतक पुरा गरेका थिए । उनले तत्कालिन प्रदेश नं. २ विरुद्ध ७३ बलमा ८१ रन बनाएका थिए । त्यसबाहेक अन्य खेलमा उनको ब्याटिङ खासै चलेन ।
‘अभ्यास गर्दा गर्दै पनि राम्रो गर्न सकिन । मेन्टलीपनि कही न कही चुकिहेको थिए र राम्रो गर्न सकिरहेको थिएन । तर यस पटक आफूलाई प्रमाणित गर्नु नै थियो,’ उनले खेलपाटीसँग भने ।
यू–१९ प्रतियोगितामा नदेखिएको उनको ब्याटिङको जादू भने एकमहिनाभित्रै लोककथा झै बदलिएको छ ।
उक्त बदलाबले नै लोकेशलाई सिनियर टोलीसम्म डोर्याएको छ, जुन उनको जीवनको सबैभन्दा ठूलो उपलब्धि र ‘टर्निङ प्वाइन्ट’ हुन सक्छ ।
‘एकचोटीमात्र प्रदर्शन गरेर हुदैन, निरन्तरता चाहिन्छ, मेरो खेल आक्रामक नै हो, मैले खेल्न खोज्ने यस्तै नै हो, सधै यस्तै हुन्छ भन्ने छैन तर आफ्नो तर्फबाट उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गर्नेछु’ लोकेशले टुंग्याए ।