काठमाडौं । पीएम कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार चौंथो जित निकालेको छ ।
समूह ‘ए’ अन्तर्गत टियु क्रिकेट मैदानमा सोमबार पुलिसले प्रदेश १ लाई ६ विकेटले पराजित गरेको हो ।
यस समूहमा पुलिसले चारमध्ये चारवटै खेलमा जित हात पार्दै ८ अंक जोडेको छ ।
त्रिभुवन आर्मी क्लबले चार खेलमा ६ अंक जोडेको छ । आर्मीले दुई खेलमा जित तथा एक खेलमा प्रदेश १ सँग अंक बाडेको थियो ।
यता सुदुरपश्चिम प्रदेशले ४, कर्णालीले २ र प्रदेश १ ले केवल १ अंक जोड्दै प्रतियोगिताबाट बाहिरिए ।
सोमबारको खेलमा पुलिसले १ सय २ रनको लक्ष्य १३ दशमलब १ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।
पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ४४ रनको योगदान गरे । भुर्तेलले २८ बल खेल्दा समान तीन चौका र तीन छक्का प्रहार गरे ।
अनिल साह २४ बलमा २६ रन बनाउदै अविजित रहे । उनले दुई चौका र एक छक्का प्रहार गरे ।
दिपेन्द्र सिह ऐरीले २० रन जोडे । दिपेन्द्रले १३ बलको सामना गर्दा ३ चौका र एक छक्का हिर्काए ।
प्रदेश १ का मनोज तामाङ, मुकुन्द यादव, फिर्दोस अन्सारी र दिपेश कँडेलले एक–एक विकेट हात पारे ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय १ रन जोडेको हो ।
प्रदेश १ का लागि ओपनर मिनास थापाले ५९ रनको योगदान गरे ।
श्रवण यादवले १० रन जोड्दा अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पुलिसकातर्फबाट आरिफ शेख, दिपेन्द्र सिंह ऐरी र मञ्जीत श्रेष्ठले समान दुई–दुई विकेट हात पारे ।
करण केसी र सागर ढकालले एक–एक विकेट लिए ।