काठमाडौं । सन्दीप लामिछाने रहेको टिम नगरहर लिओपार्डस युएईमा जारी अफगानिस्तान प्रिमियर लिग (एपीएल) क्रिकेटको सेमिफाइनलमा पराजित भएको छ ।
शुक्रबार राति भएको पहिलो सेमिफाइनलमा लिओपार्डस बल्ख लिजेन्ड्ससंग १७१ रनले पराजित भएको हो । तर, लिजेन्ड्सविरुद्धको सेमिफाइनल खेलमा सन्दीप टोलीमा परेका थिएनन् । पक्टिया प्यान्थर्सविरुद्ध डेब्यु गरेका सन्दीप लगातार दोस्रो पटक टिममा नपरेका हुन् ।
युएईको शारजाहमा लिजेन्ड्सले दिएको २३६ रनको लक्ष्यसहित मैदान उत्रिएको लिओपार्डस १३ ओभर १ बलमा अलआउट हुँदै ६४ रनमा समेटियो । लिओपार्डसका फजल नियाजाई र आन्द्रे फ्लेट्चरले समान १३/१३ रन जोडे । लिजेन्ड्सका मोहमद नाबीले ४ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लिजेन्ड्सले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर २३५ रन जोडेको थियो । लिजेन्ड्सका लागि डरविस रासूलीले ७८, क्रिस गेलले ५४ तथा कप्तान मोहमद नाबीले ४७ रनको योगदान दिए । लिओपार्डसका बेन कुटिङले २ विकेट लिए ।
अब उपाधिका लागि लिजेन्ड्सले काबुल र पक्टियाबीचको विजेतासंग खेल्ने छन् । फाइनल आइतबार हुनेछ ।