बुटवल । नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट अन्तर्गतको 'बी' डिभिजनमा तिलोत्तमा क्रिकेट क्लबले लगातार दोस्रो जित निकालेको छ ।
भैरहवाको सिदार्थ रंगशालामा बिहीबार भएको खेलमा साईग्लोबल क्रिकेट क्लबलाई ६४ रनले हराएर तिलोत्तमाले दोस्रो जित निकालेको हो ।
दोस्रो जितसँगै तिलोत्तमा डिभिजन ‘ए’ मा प्रवेश गरेको छ ।
पहिले ब्याटिङ गरेको तिलोत्तमाले ३९ ओभर १ बलमा अलआउट हुँदै १ सय १२ रन बनाएको थियो । उसका कृष्ण भुसालले २८ रन बनाए ।
साईग्लोबलका आकाश त्रिपाठीले ४ विकेट लिए ।
तिलोत्तमाले दिएको १ सय १३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको साईग्लोबल १५ ओभर १ बलमा अलआउट हुँदै ४८ रनमा समेटियो ।
उसका लागि अजय रसालीले सर्वाधिक २० रन बनाए ।
तिलोत्तमाका कृष्ण पराजुलीले ९ रन खर्चिएर ५ विकेट लिए ।
लिगमा १२ टिमको सहभागिता रहेको छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।
प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार र ट्रफी प्राप्त गर्नेछन् ।
यस्तै म्यान अफ द सिरिजलाई १५ हजार, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीलाई ५/५ हजार प्रदान गरिने छ ।