बुटवल । नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट अन्तर्गतको 'बी' डिभिजनमा बुटवल राइनो क्रिकेट क्लबले लगातार दोस्रो जित निकालेको छ ।
भैरहवाको सिदार्थ रंगशालामा बुधबार शंकरनगर क्रिकेट क्लबलाई २ विकेटले पराजित गर्दै बुटवलले लगातार दोस्रो जित निकालेको हो ।
दोस्रो जितसँगै बुटवल डिभिजन ‘ए’ मा प्रवेश गरेको छ ।
पहिले ब्याटिङ गरेको शंकरनगरले ४१ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५२ रन बनाएको थियो । उसका लागि विराट भण्डारीले ५२ र कृष्ण सेनले २३ रन बनाए ।
बुटवलका राहुल साहनीले ४ विकेट लिए । यस्तै, अब्दुल नसिम, ईश्वर खनाल र संदीप बश्यालले २/२ विकेट लिए ।
शंकरनगरले दिएको लक्ष्य बुटवलले ४० ओभरमा ८ विकेट गुमाएर पुरा गर्यो ।
बुटवलको जितमा सन्जु बोहराले २३, राहुल साहनीले २२ र मंजीर भुसालले नटआउट १८ रनको योगदान दिए ।
शंकरनगरका अखलेस यादवले ३ तथा अमित तामाङ र कृष्ण सेनले २/२ विकेट लिए ।
लिगमा १२ टिमको सहभागिता रहेको छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।
प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार र ट्रफी प्राप्त गर्नेछन् ।
यस्तै म्यान अफ द सिरिजलाई १५ हजार, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीलाई ५/५ हजार प्रदान गरिने छ ।