काठमाडौं । चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई भरतपुर महानगरपालिकाले ५० लाख आर्थिक सहयोग गरेको छ ।
महानगरले मंगलबार धुर्मुस सुन्तली फाउन्डेसनलाई ५० लाख प्रदान गरेको हो ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेललाई ५० लाखको चेक प्रदान गरेका थिए । सो अवसरमा महानगर प्रमुख रेणु दाहालको पनि उपस्थिति रहेको थियो ।
भरतपुर नगरपालिकाले उपलब्ध गराएको २० बिघा जग्गामा रंगशाला निर्माण भईरहेको छ । २०७५ साल माघ १६ गते महानगर र फाउण्डेसनबीच सम्झौता भएपछि रंगशाला निर्माण अघि बढेको थियो ।
रंगशाला नेपालको मौलिकता झल्कने गरि कमलको फुलको आकारमा निर्माण गरिनेछ । रंगशाला ३० हजार दर्शक क्षमताको हुनेछ ।
हालसम्म रंगशालाको मुख्य मैदानको काम ९० प्रतिशत सकिएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) का काउन्सेलर तथा क्युरेटर श्रीलंकाका बन्दुला वार्नापुराको पूर्ण निगरानीमा मैदान निर्माण भईरहेको छ ।