एजेन्सी । अष्ट्रेलियामा यसै वर्ष आयोजना हुने टी-ट्वान्टी विश्वकप स्थगित हुने सम्भावना बढेको छ । कोरोना त्रासको कारण टी-ट्वान्टी विश्वकप सन् २०२२ मा सर्ने देखिएको हो ।
चीनबाट विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण हालसम्म ३० हजार भन्दा बढी मानिसको ज्यान गएको छ । यस्तै ५ लाख भन्दा बढी यस भाईरसबाट संक्रमित छन् ।
कोरोनाकै कारण अहिले विश्वको खेलकुद ठप्प छ । त्यसैले यसै वर्ष हुने टी-ट्वान्टी विश्वकप समेत स्थगित हुने सम्भावना बढेको हो ।
टाइम्स अफ इण्डियाको अनुसार टी-ट्वान्टी विश्वकप सन् २०२२ सम्मको लागि सर्न सक्नेछ । सन् २०२१ मा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि समय नभएको कारण सन् २०२२ मा सर्न सक्ने भएको हो ।
आन्तरिक रुपमा टी-ट्वान्टी विश्वकप सार्ने छलफल भएको तर टुंगो नलागेको स्रोतले बताएको टाइम्स अफ इण्डियाले जनाएको छ ।
'सन् २०२१ मा भारतले टी-ट्वान्टी विश्वकप आयोजना गर्दैछ । त्यसैले विकल्प भनेको सन् २०२२ हो,' स्रोतले टाइम्स अफ इण्डियासँग भनेका छन् ।
अष्ट्रेलियामा यस वर्षको अक्टोबर देखी नोभेम्बरसम्म विश्वकप हुने तालिका छ । लगत्तै डिसेम्बरमा भारत पुन: अष्ट्रेलिया भ्रमणमा निस्कने छ । भारत र अष्ट्रेलिया सिरिज सकिएपछि बिग बास लिग सुरु हुनेछ ।
आगामी मार्च देखी अप्रिलमा आईपीएल हुने भएकाले सन् २०२१ मा दुई ठुला अन्तराष्ट्रिय इभेन्ट हुने छैन । किनकि सन् २०२१ मा समेत आईसीसीले टी-ट्वान्टी विश्वकप भारतमा आयोजना गर्दैछ । आईसीसीले लगातार दुई वर्षमा २ विश्वकप खेलाउन लागेको यो पहिलो पटक हो ।
कोरोनाको कारण ओलम्पिक खेलकुद समेत सरेको छ । त्यसैमा १३ औं संस्करणको आईपीएल समेत स्थगित हुने बलियो सम्भावना रहेको छ ।
गत संस्करणको टी-ट्वान्टी विश्वकप वेष्ट इण्डिजले उपाधि जितेको थियो ।