काठमाडौं । नेपालले सन् १९९६ देखी अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको थियो । त्यसको १८ वर्ष पछि नेपालले सन् २०१४ मा पहिलो पटक टी-ट्वान्टी विश्वकप खेलेको थियो ।
यस्तै सन् २०१८ मा नेपालले पहिलो पटक एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा सहभागिता जनाउने मौका पायो ।
नेपालले हालसम्म १० एकदिवसीय अन्तर्राष्ट्रिय र ३४ टी-ट्वान्टी अन्तराष्ट्रिय खेल खेलिसकेको छ । दुवै फर्म्याटमा नेपालले केही विश्व कीर्तिमान बनाउन समेत सफल छ ।
नेपालले हालसम्म खेलेको १० एकदिवसीय अन्तराष्ट्रिय खेल मध्ये ५ खेलमा जित र ५ खेलमा हार व्यहोरेको छ ।
यस्तौ नेपालले १६ टी-ट्वान्टी अन्तर्राष्ट्रियमा जित र १७ मा हार ब्यहोरेको छ भने एक खेल भने नतिजा विहिन टुङ्गिएको छ ।
नेपालले दुई फर्म्याटमा हात पारेको फराकिलो जित यस प्रकार छन् ।
१. १ सय ४५ रन
सन् २०१९ मा भएको युएई भ्रमणमा युएईविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा १ सय ४५ रनको जित निकालेको थियो । यो जित नै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हात पारेको फराकिलो जित हो ।
खेलमा नेपालले दिएको २ सय ४३ रनको लक्ष्य पछ्याएको युएई ९७ रन बनाउँदा अलआउट भएको थियो । खेलमा सोमपाल कामी एक्लैले ५ विकेट लिएपछि नेपालले सहज जित निकालेको थियो । युएईका ७ खेलाडीले दोहोरो अंक छुन सकेका थिएनन् ।
२. १ सय ४१ रन
गत वर्ष नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग ) मा भुटानविरुद्ध नेपालले १ सय ४१ रनको फराकिलो जित निकालेको थियो । यो जितनै नेपालले टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा हात परेको फराकिलो जित हो ।
खेलमा नेपालले दिएको २ सय ३७ रनको लक्ष्य पछायएको भुटानले मात्र ९६ रन बनाउन सक्यो । सो खेलमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले १ सय ७ रनको शतकीय इनिङ खेलेका थिए ।
३. ९ विकेट
टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले २ पटक ९ विकेटको जित निकालेको छ । सन् २०१९ मा सिंगापुरविरुद्ध ९ विकेट को जित हात पारेको थियो । तत्कालिन कप्तान पारस खड्काले कीर्तिमानी शतक प्रहार गरेपछि नेपालको जित सहज बनेको थियो ।
यस्तै थाइल्याण्डविरुद्ध समेत नेपालले ९ विकेटको जित निकालेको छ । यसै वर्ष थाइल्याण्डमा भएको एसीसी एस्टर्न रिजन क्रिकेटमा नेपालले आयोजकलाई ९ विकेटको सानदार जित हात पारेको थियो । नेपाल खेलमा ८७ बल बाँकी रहंदा ६७ रनको लक्ष्य पुरा गरेको थियो ।
४. ८ विकेट
सन् २०२० मा भएको आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अमेरिकाविरुद्धको अन्तिम खेलमा नेपालले ८ विकेटले जित हात परेको थियो । ३७ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ५ ओभर २ बलमा २ विकेट गुमाएर पुरा गर्यो । खेलमा नेपालले २ सय ६८ बल बाँकी रहँदा जित निकालेको थियो । यस्तै यो जित नेपालले सर्वाधिक बल बाँकी रहँदा हात पारेको जित समेत हो ।
५. ८४ रन
गत वर्ष नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग ) मा माल्दिभ्सविरुद्ध नेपालले ८४ रनको जित निकालेको थियो । यो जित नेपालले टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा हात परेको दोस्रो फराकिलो जित हो ।
यस्तै नेपालले सन् २०१४ को टी-ट्वान्टी विश्वकपमा हङकङलाई ८० रनले पराजित गरेको छ । विश्वकपको पहिलो खेलमा १ सय ५० रनको लक्ष्य पछाएको हङकङ मात्र ६९ रनमा समेटिएको थियो ।
(सन् २००३ को एसीसी इमर्जिङ नेसन टुर्नामेण्टमा नेपालले भुटानलाई पराजित ३ सय ५३ रनले पराजित गरेको थियो । सो नतिजा हालसम्म नेपालले कुनै पनि क्रिकेटमा निकालेको फराकिलो जित हो ।)