काठमाडौं । दोस्रो संस्करणको हिमालय क्रिकेट लिग दुई दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गतको दोस्रो खेलको पहिलो दिन ओसिस क्रिकेट एकेडेमीले अग्रता बनाएको छ ।
मुलपानी क्रिकेट मैदानमा बुधबार पहिलो दिनको समाप्तिमा ओसिसले बालुवाटार किकेट क्लबविरुद्ध ९९ रनको अग्रता बनाएको हो ।
बालुवाटारले २ सय ६५ रन बनाउँदै इनिङ्स समाप्तिको घोषणा गरेपछि आफ्नो पहिलो इनिङ्स सुरु गरेको ओसिसले पहिलो दिनको समाप्तिमा ५३ ओभरमा ६ विकेटको क्षतिमा ३ सय ६४ रन बनाएको छ ।
ओसिसका सचिन शर्मा १ सय १७ रनमा अविजित रहेका छन् । सुमित श्रेष्ठ पनि ६८ रनमा अविजित रहेका छन् ।
यस्तै आशिष झाले ६० रनको अर्धशतकीय इनिङ्स खेल्दा सुदीप बस्नेतले २३ रन बनाए । बालुवाटारका सुरेश बस्नेतले ३ तथा नविन तामाङले २ र राजन जिसीले १ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बालुवाटाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६५ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गरेको थियो ।
बालुवाटारका दिनेश बुढा मगरले १ सय २८ रनको शतकीय इनिङ्स खेले । यस्तै ओपनर ब्याट्सम्यान अभिनाश सिंहले ४५ रन तथा नविन तामाङले २६ रन बनाए ।
ओसिसका स्वरुप श्रेष्ठ एक्लैले ५ विकेट लिए ।