काठमाडौं । तेस्रो मैत्रीपूर्ण एकदिवसीय क्रिकेटमा क्यान-११ लाई मलेसिया-११ ले जितका लागि १ सय ५८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
पोखरा रंगशालामा पहिले ब्याटिङ गरेको मलेसियाले ४३ ओभरमा ४ बलमा सबै विकेट गुमाएर मात्र १ सय ५७ रन बनायो । उसका भुसन सेभले सर्वाधिक ३० रन बनाए ।
यस्तै सेभेन्द्र मोगनले २८, शर्भिन मुनियाण्डिले २२, मोहमद अरिफले १७, शेद अजिजले १५ र विजय उन्नीले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
मलेसियालाई सस्तैमा समेट्न क्यानका अविनास बोहराले ३ विकेट लिए । यस्तै ललित राजबंशी र कुशल मल्लले समान २/२ विकेट हात पार्दा किशोर महतो र कमल सिंह ऐरीले समान १/१ विकेट लिए ।
यस अघि सोमबार भएको पहिलो मैत्रीपूर्ण खेलमा क्यान-११ ले १ सय ३४ रनको जित निकालेको थियो । यस्तै दोस्रो खेलमा समेत क्यान-११ ले १ सय ७० रनको फराकिलो जित हात पारेको थियो ।
आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गत अमेरिका र ओमानसँगको सिरिज अघि नेपालले मलेसियासँग मैत्रीपूर्ण खेल खेलिरहेको हो । पोखरामा बन्द प्रशिक्षणमा रहेका नेपाली टिमनै क्यान-११ नामले खेल्दै आएका छन् ।