काठमाडौं । सिंगापुरमा आयोजना हुने तीन राष्ट्रबीचको त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम आगामी बुधबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।
बिहिबार आयोजित राष्ट्रिय क्रिकेट टिमको घोषणा कार्यक्रममा नेपाली टिम बुधबार सिंगापुर प्रस्थान गर्ने जानकारी गराईएको हो ।
प्रतियोगिताको लागि नेपालले बिहिबार नै १५ सदस्सीय टिमको घोषणा गरिसकेको छ । आईसीसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले नेपाली टोली छनोट गरेका हुन् ।
नेपालले घोषणा गरेको टिममा दुई नयाँ अनुहार छन् । जसमा ईशान पाण्डे र कुशल मल्ल रहेका छन् । घरायसी कामले ज्ञानेन्द्र मल्ल टिममा नहुदा दिपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिईएको छ ।
यस्तै अनुभवी खेलाडी शरद भेषवाकर र भेट्रान बलर बसन्त रेग्मी टिममा अटाएका छैनन् ।
सिंगापुर क्रिकेटको आयोजनामा हुने टी-ट्वान्टी सिरिज सेप्टम्बर २७ बाट सुरु हुनेछ । सिरिजमा नेपाल, आयोजक सिंगापुर र टेष्ट राष्ट्र जिम्बावे रहेका छन् ।
नेपालले जिम्वाबेसँग खेल्दै सिरिजको सुरुवात गर्नेछ । सिंगापुर क्रिकेटको अनुसार नेपालले सेप्टेम्बर २७ मा जिम्वाबेसँग खेल्नेछ । यस्तै २८ सेप्टेम्बरमा नेपालले सिंगापुरसँग खेल्नेछ ।
डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजमा नेपालले जिम्वाबेसँग अक्टोबर १ मा दोस्रो खेल खेल्नेछ । यस्तै २ अक्टोबरमा सिंगापुरसँग खेल्नेछ ।
डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।